
काठमाडौं, ५ असोज । नेकपा (एमाले) ले डेंगी रोग नियन्त्रणमा सरकार चुकेको बताएको छ ।
बुधबार एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले देशव्यापी रुपमा फैलिएको डेंगी रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोप सम्बन्धी गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त प्रकोपलाई नियन्त्रण गर्न सरकार चुकेको बताएका हुन् ।
‘यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ । साउन महिनामा नै व्यवस्थापिका संसदमा हाम्रो पार्टीका तर्फबाट माननीय सदस्यहरुले यस सवालमा ठोस योजना र कार्यक्रमसहित डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गरिएको थियो । भट्टराई द्वारा जारी विज्ञप्तिमा भनिएको छ, स्वास्थ्य संस्थामा विरामीहरुका लागि बेड छैन । हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।’

एमालेले डेंगी रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी÷गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधीको सहज उपलब्धताका लागि सरकारसँग माग गरेको छ ।















प्रतिक्रिया