१४ कार्तिक २०८३, शनिबार

ज्यान जोखिममा राखेर भूकम्प पीडितलाई मल्हम लगाउँदै सावित्री श्रेष्ठ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabitri-Shrestha

– विश्वास खड्काथोकी

काठमाडौँ, २४ बैशाख । भूकम्पले उनको गाउँ र शहरका गरी चार वटा घर चर्कियो । कुनै पनि घर बस्न लायक छैनन् । उसो त उनको जीवनमा झन ठूलो भूकम्प गएको छ । दुई दाजु र भाईको हत्या भयो । हत्यामा दोषी ठहरिएका अहिले राज्यको अगाडि छाती फुलाएर हिँडेका छन् । उनी १६ वर्षदेखि न्यायकै निम्ति लडिरहेकी छिन्, एक्लै ।

Sabitri-Shrestha2

सावित्री श्रेष्ठ । जसले आफ्नो जीवनको पीडालाई पन्छाएर भूकम्प पीडितको पीडामा मल्हम लगाउन हिँडिन् । रामेछापको साँघुटार र ओखलढुंगाको पोकली । जहाँ उनको भाइ उज्जनकुमार श्रेष्ठ र दाजु गणेशकुमार श्रेष्ठ मारिएका थिए । त्यहीँ पुगेर राहत स्वरुप त्रिपाल, चाउचाउ, चिउरा, बिस्कुट प्रदान गरिन् । साबित्रीकै भाषामा भन्ने हो भने उनी र उनको परिवारले त अझैसम्म राहतको महसुस गर्न सकेको छैन । तर, सावित्री भने राहत वितरण गरेर फर्किएकी छिन् ।

Sabitri-Shrestha1

जब उनी रामेछाप राहतका लागि ६० वटा त्रिपाल, २५ कार्टुन चाउचाउ, २ बोरा चिउरा र ३२ वटा बेबी ब्याङ्केट बोकेर हिँडिन् । उनलाई सुनाइयो, ‘तपाईँ नजादा राम्रो हुन्छ । त्यहाँ तपाईँका लागि खतरा हुनसक्छ ।’ कारण रहेछ– केही माओवादीका नेता, कार्यकर्ताहरु पनि त्यसतर्फ जाँदै रहेछन् । तर, उनी पछि हटिनन् । पुगिन् । राहत वितरण गरेर फर्किइन । सावित्री भन्छिन्, ‘हामी बसेकै होटेलमा उनीहरु पनि बसे । पछि गएछन्, प्रहरी चौकी नजिकै भएकाले पनि मलाई कुनै डर थिएन ।’

Sabitri-Shrestha4

रामेछाप पछि पुगिन्, ओखलढुंगा । आफ्नो भाइ उज्जनकुमारको हत्या भएको ठाउँमा फुल चढाइन, अनि गाउँलेलाई ६० वटा त्रिपाल, १६ वटा वेवी ब्यालेङ्केट, ५० कार्टुन चाउचाउ, छ बोरा चिउरा र १० बाकस बिस्कुट वितरण गरिन् ।

Sabitri-Shrestha3

भाइहरुकै हत्या भएको ठाउँमा पुग्दा त दुःख लाग्छ, होला है ? सावित्रीेको अनुहार मलिन बन्छ । मलिन अनुहारले मधुरो जवाफ फर्काउँछिन्, ‘धोबी पुग्न लागेपछि नै मन कस्तो–कस्तो भएर आउँछ । जब–जब भाइ मारिएको ठाउँ नजिकिँदै आउँछ, मनमा पीडा हुन थाल्छ । मेरो भाइ धोबीघाट आउँदा बाटोमै मारियो । ऊ अझै पनि त्यहीँ छ कि जस्तो लाग्छ ।’ उनको अनुहारको रङ फेरिन्छ, ‘त्यहाँ पुगेर मैले राहत दिँदा मेरो भाइ पनि खुशी भयो कि जस्तो मनमा लागेको छ । मेरा दाजु र भाई गरिब भनेपछि हुरुक्क हुन्थे । उनीहरुलाई जसरी पनि दिनु पर्दथ्यो । चोरेर भए पनि सहयोग गर्थे । त्यहाँ गएर राहत प्रदान गर्दा भाइहरुको आत्माले शान्ति पायो होला ।’

Sabitri-Shrestha5

गाउँमा पुगेर राहत प्रदान गर्दा गाउँलेहरु खुशी त हुने नै भए । उनीहरुले सावित्रीलाई भने, ‘तपाईँ जस्ता मानिस गाउँलाई चाहिएको छ । गाउँमा अहिले कोही छैनन् ।’

Sabitri-Shrestha6

सावित्रीले आफै र परिवारको सहयोगमा राहत विरतण गरिन् । राहत वितरणमा उज्जनकुमारकी श्रीमती लक्ष्मी श्रेष्ठ पनि उपस्थित थिइन् । भन्छिन्, ‘मेरो बहिनीले ६५ थान पाल दिइन् । इन्टेन्सिभ ग्रुपले केहि ब्याल्ङ्केट र ५० कार्टुन चाउचाउ उपलब्ध गरायो । अरु सबै आफैले गरेकी हुँ ।’ उनले दाजुभाइको नाममा गणेश-उज्जन स्मृति प्रतिष्ठान स्थापना गरेकी छिन् । यसभन्दा अघि प्रतिष्ठानको अध्यक्ष बाबु रामेश्वर श्रेष्ठ थिए, अहिले उनी आफै छिन् । यी प्रतिष्ठानमार्फत दीन दुःखीलाई सहयोग गर्दै आएकी छिन् उनले ।