काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली महिला फुटबल टिमलाई जितको शुभकामना दिएका छन् । सोमबार साँझ हुने फाइनल खेलअघि मेयर शाहले नेपाली टिमका खेलाडीहरूलाई जितको शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साहले आजको नेपाली टिमको जितले महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन् ।
राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ छैटौँ संस्करणको महिला साफ च्याम्पियनशीपको फाइनल खेलमा घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दै छन् । दुबै टोली उपाधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रिदै छन् । महिला साफको प्रतियोगिताको १२ वर्ष लामो इतिहासमा पहिलो पटक भारत विनाको फाइनल हुँदैछ ।
भारतसँग अघिल्ला ५ संस्करणका फाइनलमा ४ पटक नेपाल र एक पटक बंगलादेशले प्रतिस्पर्धा गरेको थियो । पाँचै पटक भारत च्याम्पियन बनेको थियो । यसपटक नेपाल र बंगलादेशमध्ये जुन टोली विजयी भए पनि नयाँ च्याम्पियन बन्दैछन् ।
शुक्रबार महिला साफको इतिहासमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश थियो । शुक्रबारनै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको थियो ।