लम्की (कैलाली), २४ वैशाख । कैलाली जिल्लामा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको मसुरियामा आज दिउँसो ३ बजे एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर–६ का चुकिया कठरिया महतोलाई पक्राउ गरेको हो ।
मसुरिया बजारमा महतो अटो वर्कशप सञ्चालक कठरियाले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । बालिकालाई ललाइफकाइ आफ्नो कोठामा लगेर बलात्कार गरेपछि पीडित बालिकाले आफ्नी आमालाई सो घटनाबारे बताएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
अभियुक्तले आफूले बलात्कार गरेको स्वीकार गरेकाले थप अनुसन्धानका लागि जिल्ला चलान गरिएको र बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको प्रहरी नायब निरीक्षक लक्ष्मण चन्दले जानकारी दिनुभएको छ ।
पीडित बालिकाका बुबाले सधैँ ती व्यक्ति आफ्नो होटलमा आउनेजाने गर्ने र बालिका पनि त्यहीँ खेल्न जाने गरेको बताएका छन् । रासस















प्रतिक्रिया