काठमाडौँ, २४ वैशाख । प्रमुख राजनीतिक दलका नेताहरुले यही वैशाख १२ गते गएको भूकम्पमा परी जनधनको क्षति भएका परिवारलाई तत्काल राहत तथा बासस्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँहरुले भूकम्प प्रभावित क्षेत्रमा जनताले अझै पनि बस्नका लागि त्रिपाल, पाल, खाद्यान्नलगायतका सामग्री पर्याप्त नपाएको भन्दै गुनासो गरिरहेको भन्दै सरकारले ती स्थानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
व्यवस्थापिका–संसद्को आजको बैठकपछि बाहिरिने क्रममा संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँहरुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा पुनः निर्माणको योजना बनाउन र त्यसको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले जनताले त्रिपाल, खाद्यान्नलगायतका अत्यावश्यकीय सामग्री नपाएको गुनासो गरेकाले सरकारले जनताको समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो । आजदेखि सुरु भएको व्यवस्थापिका–संसद्को बैठकमा राहत, पुनः निर्माणलगायतका विषयमा विशेष सङ्कल्प प्रस्ताव प्रस्तुत हुने जानकारी दिँदै उहाँले विपत्तिको समयमा सबै राजनीतिक दल मिलेर जानुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले दूरदराजका जनताले राहत नपाएको र राहत वितरण पारदर्शी नभएको गुनासो आएकाले तत्काल समस्याको समाधान गर्न सरकारले पहल लिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले सबै राजनीतिक दलको सुझावको आधारमा प्रस्तुत हुने सङ्कल्प प्रस्तावले भूकम्पबाट क्षति भएको क्षेत्रको पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाउने र नयाँ तथा एकीकृत बस्ती निर्माणको लागि यो समय महत्वपूर्ण भएको बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले सरकारले राहत वितरण पारदर्शी नभएको गुनासो सर्वत्रबाट आएको, वास्तविक पीडितले राहत नपाएको तथा भेदभाव गरिएकाले तत्काल सच्याउन आग्रह गर्नुभयो ।
उहाँले भूकम्पबाट क्षति भएका घर, बस्ती तथा राष्ट्रिय सम्पदाको पुनःनिर्माणका लागि उच्चस्तरीय पुनःनिर्माण प्राधिकरण गठन गर्न र बजेट, योजना र क्रियाशीलताको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा व्यवस्थापिका–संसद्मा सहभागी दलहरुको सहमतिमा सङ्कल्प प्रस्ताव ल्याउने तयारी गरिएको छ । आजकै बैठकमा सो प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको भए पनि भूकम्पका कारण जनधनको क्षति भएको र पूर्व सभासद् चक्रबहादुर ठकुरीको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने भएकाले मानवीय तथा नैतिक हिसाबले पनि आजै सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नु उपयुक्त नहुने भएपछि शुक्रबारका लागि सारिएको बताइएको छ ।
पुनःनिर्माणको ठोस प्रस्तावसहित सो प्रस्ताव ल्याउन लागिएको प्रमुख दलका शीर्ष नेताहरुले जानकारी दिनुभएको छ । रासस












प्रतिक्रिया