१४ कार्तिक २०८३, शनिबार

भूकम्प पीडितका लागि यस्तो छ एमालेको नयाँ प्रस्ताव (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale

काठमाडौँ, २४ बैशाख । नेकपा एमालेले भूकम्प पीडितका पूर्ण क्षतिग्रस्त घरका सट्टा नयाँ घर निर्माणका लागि प्रस्ताव गरेको छ ।

नेकपा एकालेका महासचिव तथा भूकम्प पीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले पूर्ण क्षतिग्रस्त भएका घरहरुको सट्टा नयाँ घर निर्माणको प्याकेज बनाउन सरकारलाई प्रस्ताव गरेको हो । त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाता र सरकार मिलेर प्याकेज बनाई वर्षात्को थालनी अघि नै पीडितहरुलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन एमालेले माग गरेको छ ।

सरकारले १४ वटा जिल्लालाई भूकम्पद्वारा बढी क्षतिग्रस्त र अति प्रभावित जिल्ला घोषणा गरे पनि लमजुङ र सोलुखुम्बु जिल्ला छुटेकाले यथाशीघ्र समेटेर राहत र पुनःस्थापना कार्य अघि बढाउन एमालेले सुझाव दिएको छ ।

बैठकले पार्टीको सिंगो पंक्तिलाई भूकम्प प्रभावित जिल्लाहरूमा राहत पठाउन तथा पुनःस्थापना र पुनःनिर्माणको लागि स्वयम्सेवक परिचालन गर्न केन्द्रित गर्ने निर्णय गरेको छ । त्यसका निम्ति केन्द्रीय योजना र विकेन्द्रित कार्यान्वयनको नीतिअनुरुप तराईका २० जिल्लामा पार्टीपंक्तिले अभियानका रुपमा खाद्यान्न संकलन गरी पीडितहरूसमक्ष पुर्‍याउन बैठकले निर्देशित गरेको छ ।

यसक्रममा घर–घरसम्म खाद्यान्न संकलन गरी पार्टी केन्द्रसँग समन्वय गरी तोकिएको जिल्लामा पठाउन जोड गरिएको छ । झापादेखि कञ्चनपुरसम्मका २० वटा जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटीहरु र कार्यरत जनसंगठनहरूलाई यस अभियानमा सक्रियतापूर्वक लाग्न पनि बैठकले निर्देशित गर्ने निर्णय गरेको छ । यस कार्यको संयोजन पार्टी सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

बैठकपछि एमालेले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः

२४ वैशाख २०७२

पूर्ण क्षतिग्रस्त भएका घरहरुको सट्टा नयाँ घर निर्माणको प्याकेज

प्रेस विज्ञप्ति

नेकपा (एमाले) द्वारा गठित ‘भूकम्प पीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समिति’को तेस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय परिसर, मदननगर बल्खुमा बस्यो । पार्टी महासचिव तथा समितिका संयोजक कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा भएको बैठकमा देहायबमोजिम छलफल र निर्णय गरिएको छ:

१. बैठकमा पार्टी पोलिटब्युरो सदस्य एवम् बागमती अञ्चल इन्चार्ज कमरेड अरुण नेपाल, वैकल्पिक पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज जगत विश्वकर्मा, वैकल्पिक पोलिट्ब्युरो सदस्य तथा राजधानी समन्वय कमिटी इन्चार्ज सानुकुमार श्रेष्ठ र केन्द्रीय सदस्य तथा राजधानी समन्वय कमिटीका सह–इन्चार्ज जीवनराम श्रेष्ठले जिल्लागत रुपमा आ–आफ्नो कार्यक्षेत्रमा महाभूकम्पले पुर्‍याएको क्षतिको स्थलगत एवम् तथ्यगत जानकारी गराउनुभयो ।

भूकम्प प्रभावित जिल्लाहरूमा राहत वितरण व्यवस्थित हुन नसकेको, सुगम स्थानको तुलनामा दुर्गम गाउँहरूमा अझै पुग्न नसकेको र कतिपय ठाउँमा राहत बितरणमा राजनीतिकरणका प्रवृत्तिहरूसमेत देखिन थालेकोमा उहाँहरूले बढी चिन्ता गर्नुभयो ।

२. सम्पर्क विशेष समन्वय कमिटीले १४ वटै अञ्चल सम्पर्क कमिटीहरूको आकस्मिक बैठक गरी उपत्यकाभित्र बसोबास गर्ने विभिन्न जिल्लाका नागरिकहरूको मानवीय तथा भौतिक क्षतिको तथ्य संकलन सँगसँगै राहत संकलन कार्य अघि बढाइएको जानकारी पार्टी स्थायी कमिटीका सदस्य तथा कमिटीका इन्चार्ज छविलाल विश्वकर्मा र केन्द्रीय सदस्य तथा कमिटीका सह–इन्चार्ज विजय गुरुङले बैठकलाई गराउनुभयो । उहाँहरूले काठमाडौंको गोंगबुमा उद्धार कार्य नै केन्द्रित गर्नुपर्नेमा जोड दिंदै त्यहाँ अझै ५०/६० जना व्यक्तिहरू भत्किएका संरचनाहरु मुनि पुरिएको अवस्थामा रहेको, भत्किएका घरहरुसँगै ठूलो लगानी रहेका थुप्रै व्यावसायीहरूको लगानी धराशायी भएको र सरकारले छुट्टै शीर्षकअन्तर्गत तिनलाई राहत र सहयोगको घोषणा गर्नुपर्नेसमेत सुझाव दिनुभयो ।

३. सरकारले १४ वटा जिल्लालाई भूकम्पद्वारा बढी क्षतिग्रस्त र अति प्रभावित जिल्ला घोषणा गरेको, तर लमजुङ र सोलुखुम्बु जिल्ला छुटेकाले यथाशीघ्र समेटेर राहत र पुनःस्थापना कार्य अघि बढाउनसमेत बैठकले सुझाव दिने निर्णय गर्‍यो ।
४. २०७२ जेठ १ देखि उपत्यका र प्रभावित स्थानहरूका विद्यालयहरू खुल्ने तयारी रहेकोमा सरकारले विद्यालय भवन तथा कक्षा कोठाहरु क्षतिग्रस्त भएका जिल्लाहरूका विद्यालयमा अविलम्ब ठूलो आकारका त्रिपालको व्यवस्था मिलाएर पठनपाठनलाई नियमित र सुचारु गर्न बैठकले सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

५. पार्टीको सिंगो पंक्तिलाई भूकम्प प्रभावित जिल्लाहरूमा राहत पठाउन तथा पुनःस्थापना र पुनःनिर्माणको लागि स्वयम्सेवक परिचालन गर्न केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ । त्यसनिम्ति केन्द्रीय योजना र विकेन्द्रित कार्यान्वयनको नीतिअनुरुप तराईका २० जिल्लामा पार्टीपंक्तिले अभियानका रुपमा खाद्यान्न (चामल/दाल) संकलन गरी पीडितहरूसमक्ष पुर्‍याउन बैठकले निर्देशित गरेको छ । यसक्रममा घर–घरसम्म खाद्यान्न संकलन गरी पार्टी केन्द्रसँग समन्वय गरी तोकिएको जिल्लामा पठाउन जोड गरिएको छ । झापादेखि कञ्चनपुरसम्मका २० वटा जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटीहरु र कार्यरत जनसंगठनहरूलाई यस अभियानमा सक्रियतापूर्वक लाग्न पनि बैठकले निर्देशित गर्ने निर्णय गरेको छ । यस कार्यको संयोजन पार्टी सचिव तथा संगठन विभाग प्रमुख कमरेड पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ ।

६. बैठकले पूर्ण क्षतिग्रस्त भएका घरहरुको सट्टा नयाँ घर निर्माणको प्याकेज बनाई राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगदाता र सरकार मिलेर प्याकेज बनाई वर्षात्को थालनी अघि नै पीडितहरुलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनु पर्नेमा समेत विशेष जोड गरेको छ ।

७. हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा भूकम्पले पूर्ण क्षतिग्रस्त तुल्याएकोमा त्यहाँ रहेका महत्वपूर्ण कागजात, अत्यावश्यक सामग्री र पुस्तकालयमा अवस्थित झन्डै ६० हजार पुस्तकहरु समेत निकालेर सुरक्षित गरिएको छ । रामेछापस्थित पार्टीको आफ्नै जग्गामा रहेको पुरानो भवन र सिन्धुपाल्चोक जिल्ला कमिटीको कार्यालयसमेत भूकम्पले क्षतिग्रस्त पारेको छ ।

८. भूकम्पको क्षति र प्रभावका सम्बन्धमा यथार्थ तथ्य–विवरण संकलन गरी छिटोभन्दा छिटो पार्टी केन्द्रमा पठाउन सम्बन्धित अञ्चलका इन्चार्ज/सह–इन्चार्ज कमरेडहरू तथा जिल्ला कमिटीका अध्यक्षहरूलाई निर्देशित गरिएको छ । साथै, पहाडी र हिमाली जिल्लाहरूले अभियानका रुपमा राहत संकलन गरी पार्टीद्वारा गठित ‘प्राकृतिक विपत्ति राहत कोष’मा छिटोभन्दा छिटो जम्मा गर्न पुनः स्मरण गराइएको छ ।

९. हालसम्म पार्टीद्वारा गठित ‘प्राकृतिक विपत्ति राहत कोष’मा किसान श्रेष्ठ (तनहुँ) ५ लाख, प्रवासी नेपाली मञ्च (कतार) ४ लाख ४२ हजार ९ सय ५२, अछाम जिल्ला कमिटी ७३ हजार ९१७, अनेरास्ववियु केन्द्रीय कमिटी ५१ हजार, पार्टीको धौलागिरी अञ्चल समन्वय कमिटी २५ हजार, इन्द्र कार्की (अनामनगर, काठमाडौं) २०हजार छ सय १ र प्रा.डा. उपेन्द्र कोइरालाले १० हजार रुपियाँ जम्मा गर्नुभएकोे छ ।

आजै सम्पर्क विशेष समन्वय कमिटीले ५ लाख रुपियाँको चेक समितिका संयोजक कमरेड महासचिवलाई बैठकमा हस्तान्तरण गरेकोछ । बैठकले यो पहलकदमी लिने कमरेडहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

योगेश भट्टराई
प्रमुख
केन्द्रीय प्रचार विभाग
नेकपा (एमाले)