हेटौंडा, २४ भदौ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आउँन अब ७२ दिन बाँकी छ । राजनीतिक दलहरुले निर्वाचनको तयारी स्वरुप आफ्नो क्षेत्रमा सक्रियता बढाएका छन् ।
यसैबीच, आफ्नो गृह जिल्ला मकवानपुर क्षेत्र नंबर १ बाट निर्वाचन लड्ने तयारी गरेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछिल्लो केहि दिन यता आफ्नो क्षेत्रको गाउँहरुमा सक्रियता बढाएका छन् । बुधबार गृह जिल्ला आएका थापाले बिहीबार र शुक्रबार आफ्नो क्षेत्रको गाउँहरुमा पुगेका हुन् । थापाले शुक्रबार राति फेसबुकमा लेख्दै मकवानपुरे जनताको साथ र समर्थन पाएको उल्लेख गर्दै आभार व्यक्त गरेका छन् ।
थापाले भनेका छन्:
घर- घरमा, चोक-चोकमा राप्रपा नेपाल।
मकवानपुरे जनताको साथ, समर्थन, सद्भाव शुभेच्छाको निमित्त आभार !
सबैको साथ लिएर हामी निरन्तर लक्ष्य र गन्तब्य तर्फ अघि बढ्दैछौ।
#मकवानपुर_१
थापाले बिहीबार कार्यकर्ता भेटघाटमा मंसिर ४ गते हुने निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन हुने र उक्त निर्वाचनमा विजयी हुने इच्छा व्यक्त गरेका थिए । ६७ वर्षीय थापा बहुदल आएदेखि पटक पटक सरकारमा सत्ता साझेदारी गर्दै २०७४ सम्म ३ पटक उपप्रधानमन्त्री सहित ९ पटक मन्त्री बनिसकेका छन् ।
०७२ मा नेपालको संविधान जारी भएपछि ०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा थापा मकवानपुर क्षेत्र नंबर १ मा नेकपा एमालेका उम्मेद्वार कृष्णप्रसाद दाहालसंग पराजित भएका थिए । तत्कालि सत्ता गठबन्धन नेपाली कांग्रेस र राप्रपाबीच चुनावी तालमेलबाट थापा प्रत्यक्ष निर्वाचनमा उठेका थिए । तर थापा एमाले र नेकपा माओवादीको चुनावी तालमेलबाट एमालेका उम्मेद्वार दाहालसंग ५ हजार ९७३ मतान्तरले पराजित बनेका थिए । एमालेका दाहालको ४० हजार ६ सय ३१ मत अउँदा राप्रपाका थापाको ३४ हजार ६ सय ५८ मत मात्र आएको थियो । थापाले तत्कालिन समयमा कांग्रेसले धोका दिएको कारणले पराजित हुनु परेको बताएका थिए ।
एमालेका दाहाल र राप्रपाका थापा एक आपसमा तीन पटक चुनावी मैदानमा उत्रिसकेका छन् । जसमा दाहालले २ पटक जित हाँसिल गर्दा थापाले एक पटक मात्र जित हाँसिल गरेका छन् । दाहाललेनै थापालाई २०४८ र २०५६ मा भएको निर्वाचनमा पराजित गर्दा थापाले दाहाललाई २०५१ को निर्वाचनमा पराजित गरेका थिए ।
४ मांसिरको निर्वाचन निर्वाचनको लागि पनि थापा राप्रपा नेपालबाट उम्मेद्वारको लागि सिफारिस हुँदा एमालेबाट वर्तमान प्रतिनिधि सभा सदस्य दाहालसहित एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, एमाले नेताहरु मदनकुमार दाहाल, नरहरी महत र रमिला सापकोटा सिफारिस भएका छन् ।
यसपटकको निर्वाचनमा भने थापाले एमालेसंगको चुनावी तालमेलबाट निर्वाचनमा उठ्ने तयारी स्वरुप जिल्लाका एमालेका नेताहरु संग कुरा अघि बढाएको स्रोतले बताएको छ । यसअघि, बैशाखमा सम्पन्न निर्वाचनमा थापाको राप्रपाले कुनै पनि उम्मेद्वार नउठाई एमालेलाई समर्थन गर्दै चुनाव चिन्ह सूर्यमा मतदान गर्न अपिलनै गरेको थियो ।
















प्रतिक्रिया