हेटौंडा, २३ भदौ । मकवानपुर प्रहरीले जिल्लाको छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहिबार छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले त्रिभुवन राजपथ अन्तर्गत नामटारबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च ६८ नंबरको कारलाई चेकजाँच गर्दा १६० किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
प्रहरीले भीमफेदी–२ भैसे स्थित चेक पोष्ट अगाडी सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त सवारी नरोकी भाग्ने क्रममा बागझोरा स्थित सडकमा कारलाई नियन्त्रणमा लिइएको प्रवक्ता कार्कीले बताए । प्रहरीले १६० किलो गाँजासहित कार चालक चितवन भरतपुर महानगरपालिका–२४ का ४३ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए ।
यसैगरी, आज बिहीबारनै प्रहरीले हेटौंडा–५ सिचाई टोलबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडा ५ बस्ने ३१ वर्षीय धर्मेन्द्र खेम्काले घरमा लागूऔषध लुकाएर बिक्रीवितरण गरेको अवस्थामा पक्राउ गरेको हो ।
खेम्का बस्ने घरको कोठा खानतलासी गर्दा कोठाभित्र लुकाएर राखेको लागूऔषध नाईट्रोभेट ३ सय १६ ट्याब्लेट र अनरेक्सको १४ बोत्तल फेला परेको थियो । उनलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछको आधारमा प्रहरीले हेटौंडा–५ का २६ वर्षीय रविन श्रेष्ठ र भीमफेदी–५ घर भइ हाल हेटौंडा–५, सिचाई टोल डेरा गरी बस्ने ३० वर्षीय प्रमोद कार्की पक्राउ गरेको थियो ।
प्रहरीले श्रेष्ठ र कार्कीको कोठामा लुकाएको लागूऔषध नाइट्राभेट १५ सय ४५ ट्याब्लेट र अनरेक्स ६३ बोत्तल फेला पारेको थियो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















प्रतिक्रिया