काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ का भूकम्पपीडित जनतासँग भेटघाट गर्नुभएको छ । आज त्यस क्षेत्रका पीडितहरुका बारेमा जानकारी लिँदै तत्कालका लागि राहत सामग्रीसमेत वितरण गर्नुभएको छ ।
नाङ्लेभारेको पटाप र नवीनग्राम विद्यालय, इन्द्रायणीको खुलालटार, साँखु–सुन्टोल र चौकी भञ्ज्यांगमा पीडितहरुलाई भेटेर पूर्वप्रधानमन्त्री नेपालले चामल, त्रिपाल, चाउचाउलगायतका राहत सामग्रीहरु वितरण गर्नुभएको थियो । साथै, अति प्रभावित सिन्धुपाल्चोकको भोटेचौरमा समेत पुगेर उहाँले पीडितहरुसँग भेटघाट गर्नुका साथै राहत सामग्री वितरण गर्नुभएको थियो ।
त्यस क्षेत्रका जनताले पूर्वप्रधानमन्त्री नेपालसँग आफूलाई सरकारले उद्धार तथा राहतमा पर्याप्त ध्यान दिन नसकेको गुनासो गर्दै घर, वस्तुभाउ र आफन्त गुमाउनुपर्दा भोगिरहेको पीडालाई आउँदै गरेको वर्षायामले झन् चर्काउने आशंका प्रकट गरे । उनीहरुले त्रिपालले तत्कालका लागि ओत लाग्न सहयोग गरे पनि वर्षायाम अगावै स्थायी बसोबासमा व्यवस्था नगरेमा आफूहरुको थप बेहाल हुने गुनासो गरेका थिए ।
जवाफमा पूर्वप्रधानमन्त्री नेपालले पीडितहरुको तत्कालीन र दीर्घकालीन राहतका लागि आफूले सरकार तथा सम्पर्कमा आएका गैरसरकारी क्षेत्रका संघसस्थाहरुसँग कुराकानी गरिरहेको जानकारी दिँदै पालको साटो कर्कट पाता वितरणको व्यवस्था गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गरिसकेको जानकारी दिनुभयो । उहाँको भनाइ थियो– ‘स्थानीय स्रोत, साधन प्रयोग गरेर भूकम्पप्रतिरोधी घर बनाउनका लागि प्रविधि आवश्यक हुन्छ । राष्ट्रले यस कुरालाई मध्यनजर गरी आगामी योजना बनाउनुपर्छ ।’
मदन आश्रित स्मृति प्रतिष्ठानले संकलन गरेको राहत सामग्रीमा ३० केजीका १७० प्याकेट चामल, १६२ थान त्रिपाल, २०० कार्टुन चाउचाउ लगायतका सामग्री थिए । उक्त अवसरमा प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको पनि सहभागिता थियो ।
यसअघि उहाँले क्षेत्र नम्बर २ कै साँखु, डाँछी, इन्द्रायणी, पालुवारी, चापाबोट, छाप लगायतका ठाउँहरुका बासिन्दाहरुसँग भेट गरिसक्नुभएको छ । साथै, उहाँले काठमाडौंकै बुढानिलकण्ठ, धरमपुर, गोंगबु, गोठाटार, पेप्सिकोला, शान्तिनगर, कोटेश्वर लगायतका क्षेत्रका पीडितसँग पनि भेटघाट गर्नुभएको थियो ।














प्रतिक्रिया