काठमाडौं, २३ वैशाख । गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालका भूकम्प पीडितको बसोबासका लागि एक हजार घर निर्माण गर्ने घोषणा गरेको छ ।
मंगलबार राजधानीमा अयोजित पत्रकार सम्मेलनमा एनआरएनका अध्यक्ष शेष घलेले प्रभावित ८ जिल्लामा एक हजार भूकम्प प्रतिरोधी एवं पर्यावरणमैत्री घर निर्माण गर्ने घोषणा गर्नुभएको हो ।
भूकम्प पीडिसँगको अन्तरक्रियामा बर्षात् सुरु हुनै लागेको अबस्थामा भूकम्प प्रभावित गाउँमा बासको अभावमा झन् ठूलो समस्या देखिने भएकाले एनआरएनले राहतस्वरुप पीडित परिवारलाई घर निर्माण गरिदिन लागेको अध्यक्ष घलेले बताउनुभयो ।
उहाँका अनुसार यसको लागत करिब ३५ करोड रुपैयाँ हुने प्रारिम्भक अनुमान गरिएको छ । ‘कुन–कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने बिषयमा अध्ययन गर्न हामीले एक समिति बनाएका छौं जसले इन्जिनियर, बिज्ञ तथा नेपाल सरकारका प्रतिनिधिहरुसँग छलफल गरी प्रतिबेदन पेस गर्ने छ । सोही आधारमा हामीले भूकम्प प्रभावित बिपन्न तथा आय आर्जनको ब्यबस्था नभएका परिवारको छनौट गरी घर निर्माण प्रकृया थालनी गर्ने छौं ।’ उहाँले भन्नुभयो ।
घर निर्माण गर्दा स्थानीयबासीको चाहना, त्यहाँको स्थानीय संस्कृति र सम्पदाको गौरवलाई समेत सम्मान गर्दै घर तथा समुदायको दिगोपनमा जोड दिइने एनआरएनले जनाएको छ । घर निर्माण कार्य प्राविधिक तयारी पुरा भएपछि सुरु गरिने छ ।
यसअघि एनआरएनले भूकम्प आएलगत्तै ८ जिल्लाका १० हजार परिवारलाई आपतकालिन राहत बितरण गरेको छ । सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापमा राहत बितरण गरिसकेको एनआरएनका अध्यक्ष घलेले बताउनुभयो ।
मुलुकभर भूकम्पका कारण लाखौं घर नष्ट भएको अबस्थामा एनआरएनले एक हजार घर बनाउनु ठूलो कुरा नभएपनि यो सुरुवातले बिस्थापित गाउँलेहरुलाई आफ्नै ठाउँमा पुनस्र्थापित हुन ठूलो सहयोग पुग्ने बिश्वास गरिएको छ ।













प्रतिक्रिया