
काठमाडौं, १८ भदौ । बालबालिकाहरूलाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’को शुक्रबार शुभारम्भ गरिएको छ ।
सुसंस्कार एवम् योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवम् विश्वकै खुशी व्यक्ति डा. म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो ।
अब हरेक शनिबार र आइतबार बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ४ बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालनमा आएको छ ।
संस्कार कक्षालयको शुभारम्भ कार्यक्रममा बोल्दै डा. रिचार्डले अहिलेको समयमा संस्कारी शिक्षा अत्यन्त उपयोगी हुने भएकाले डा. अधिकारी लगायत उनको विज्ञ समूहलाई बधाई तथा शुभकामना व्यक्त गरे । शिक्षा लिनुको मुख्य उद्देश्य नै असल मानव बन्नु रहेको भन्दै उनले असल शिक्षाले नै मानिसलाई खुशी राख्न मद्दत पुग्ने बताए ।
डा. रिचार्डले आफ्ना स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै अरुको खुशीमा आफ्नो खुशी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताए ।

अरुलाई दुःखी बनाउने भन्दा पनि कसरी अरुको राम्रो गर्न सकिन्छ भन्नेमा आफ्नो समय खर्चिनुपर्ने उनको भनाई थियो ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागू गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताए । संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सँधैका लागि अत्यावश्यक रहेको भन्दै डा. महतोले संस्कार कक्षालयबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अक्षरा स्कुलकी प्रिन्सीपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै शुरू हुनुपर्ने बताइन् । उनले बाल सुलभ मस्तिष्कमा अहिले संस्कारको बिजारोपण गर्न सके भविष्यमा अत्यन्त सकारात्मक मनोविज्ञानको विकास हुने बताइन् ।
संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरू, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरू समेटिने डा. अधिकारीले बताए ।















प्रतिक्रिया