४ कार्तिक २०८३, बुधबार

भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आइतबार नेपाल आउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आगामी आइतबार (१९ भदौ) नेपाल आउने भएका छन् ।

प्रधानसेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डे पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउने कार्यक्रम रहेको छ ।

पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशका रूपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

साथै, उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।