५ कार्तिक २०८३, बिहिबार

भूकम्पपीडित भन्छन्– ‘मलाई उपचार हैन, विष देऊ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IGC-Bhukampaबनेपा, २३ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको गैरीबिसौना देउपुर गाविसका ५० वर्षीय टोलप्रसाद न्यौपानेलाई अहिले पनि रातिमा ठूलै भूकम्प आएको अनुभूति हुन्छ ।

भूकम्पका कारण आफ्नी श्रीमती र नाति गुमाएका उनलाई राति सुतेको बेलामा झस्किरहने समस्या देखिएको छ । त्रिपालमुनि किरिया गरेका उनको मुहारमा अहिले पनि कुनै चमक त छैन नै, उनी परिवार गुमाउँदाको पीडाले हतास र त्रस्त देखिएका छन् । भूकम्पका कारण उनमा देखिएको लक्षणले मनोसामाजिक समस्या देखिएको त होइन भन्ने शङ्का जन्माएको छ । जिल्लामा उनी प्रतिनिधि पात्र मात्रै हुन् । भूकम्पका कारण यस्ता बिरामीको बाहुल्य बढेको छ ।

धुलिखेल अस्पताल काभ्रेपलाञ्चोकले भूकम्पपछि हतास र चिन्तित अवस्थाका झन्डै ५०० देखि ७०० को हाराहारीमा त्यस्ता बिरामी उपचारका लागि आएको बताएको छ । धुलिखेल अस्पतालका मनोचिकित्सक डा अजय रिसालले भूकम्पका कारणले तुरुन्तै देखिने मानसिक समस्या केही सातापछि हराएर जाने तर्क गर्दै खास गरी महिला, बालबालिका र वृद्धवृद्धामा वढी प्रभाव हुने बताउनुभयो ।

उहाँले अपत्यारिलो, आवेग, चिन्ता, उत्तेजना, व्यत्तिगत या समूहमा तुरुन्तै देखापर्ने लक्षण भएको उल्लेख गर्दै यीसँगै भोक, प्यास हराउने, डर लाग्ने, निद्रा नलाग्ने पनि लक्षण आउन सक्ने बताउनुभयो । डा रिसालले पहिले नै मानसिक रोग भएमा मनोसामाजिक समस्या, चिन्ता, उदासीनता, मानसिक आघातजस्ता दीर्घकालीन मानसिक रोग आउने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।

भूकम्पबाट आफन्त गुमाएकालाई विभिन्न परामर्शका साथै परिवारका आफन्तसँगै बस्ने वातावरण दिनुपर्नेमा उहाँले जोड दिनुभयो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा राजेन्द्र कोजुले आफ्ना परिवार गुमाएका केही बिरामीले त “मलाई उपचार हैन, विष देऊ” भनेको पनि सुनाउनुभयो । बाबुआमा गुमाएका तथा भाइ पुरिएको अवस्थामा आत्तिएका बिरामीलाई सबैले सहयोग गर्नुपर्नेका जोड दिँदै उहाँले उपचार भएर पनि घर जान नमान्ने बिरामी अझै अस्पतालमा रहेको बताउनुभयो ।

डा कोजुले भन्नुभयो–“मानसिक समस्या औषधिले समाधान होला तर उनीहरुलाई आफन्त गुमाउँदाको पीडाले थप समस्या आउन सक्छ, आफन्त गुमाएका घाइतेलाई मानसिक तनाव बढी हुन सक्छ ।” हइटीमा आएको भूकम्पपछिको अध्ययनमा देखिएको तथ्याङ्कअनुसार मानसिक समस्या पाँचदेखि १० प्रतिशत रहेको थियो । रासस