
काठमाडौं, १४ भदौ । इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङका दोर्दी गाउँपालिका–१ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारी छन् । उनलाई आज मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन व्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरएको थियो ।
उनको खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरू मार्फत् २५–२५ सय डलर र पासपोर्ट समेत लिई उनीहरूलाई दुबईमा राखेकोमा दुबईबाट लिविया हुँदै इटाली लाने भनी पीडितहरूबाट पुनः ३ लाख रूपैयाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई लिवियाको शरणार्थी क्याममा राखिएको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदुतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याईएको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन व्यूरोमा बुझाइएको छ ।















प्रतिक्रिया