४ कार्तिक २०८३, बुधबार

महासंघद्वारा सञ्चारसम्बन्धी कानुनहरू चाँडो टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चाँडो टुङ्गोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा समेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको हो ।

मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुङ्गोमा पुर्याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आग्रह गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुङ्गोमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिएको पत्रकार महासंघले जानकारी दिएको छ ।

भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी थिए ।

महासंघले प्रतिनिधिसभा भङ्ग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुङ्गोमा पुर्याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।