
काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले कार्यकारी व्यक्तिहरूले कार्यकारिणी अधिकार प्रयोग नगरी मुकदर्शक भएर बस्दा मुलुकमा दण्डहीनता झन्–झन् मौलाउँदै गएको बताएका छन् ।
कार्यकारी व्यक्तिहरूले कार्यकारिणी अधिकार प्रयोग नगरी मुकदर्शकमात्रै भएर बसिदिँदा मुलुकमा दण्डहीनता सृजना भइ भयावह अवस्था उत्पन्न भएको बताउँदै उनले आफूहरू कार्यकारिणी अधिकारको प्रयोग गरी महानगरको मुहार फेर्ने महान अभियानबाट पछाडि नफर्किने स्पष्ट पारेका छन् ।
अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण गर्न महानगरले शुरू गरेको अभियानबारे थप प्रष्ट पार्न मेयर शाहले आज आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् ।’
त्यसकारण न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिन पनि उनले सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।
मेयर शाहले जारी अभियानबाट महानगर पछि नहट्ने बरु कानूनी उपचारमा समेत अगाडि बढ्ने स्पष्ट पारेका छन् ।















प्रतिक्रिया