४ कार्तिक २०८३, बुधबार

चुनावी बाचा पूरा गर्दै सिम्ताका अध्यक्ष चन्द, वृद्धभत्ता घर–घरमै पुर्‍याउन शुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ११ भदौ । जिल्लाको सिम्ता गाउँपालिकामा घर–घरमै पुगेर सामाजिक सुरक्षाभत्ता (वृद्धभत्ता) वितरण गर्न थालिएको छ ।

गाउँपालिकामा भएको एउटामात्रै बैंकले सेवाग्राहीको चाप धान्न नसकेर हैरानी खेपिरहेका यहाँका स्थानीयले अब भने केही सुखानुभूति गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको निरन्तरको पहलपछि घर–घरमै भत्ता पुर्‍याउन थालिएको सिम्ता गाउँपालिकाले जानकारी दिएको छ ।

योसँगै चन्दले चुनावको दौरान मतदातासँग गरेको एउटा बाचा पनि पूरा भएको छ । निर्वाचनका लागि आफ्नो पक्षमा मत माग्दै गर्दा उनले सामाजिक सुरक्षाभत्ता वितरणमा भइरहेको समस्या निराकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुरुप उनले घर–घरमै पुगेर त्यस्तो भत्ता वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।

अब गाउँपालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीहरू भत्ता बोकेर सर्वसाधारण जनताको घर–घरमै पुग्नेछन् । यसबाट भत्ता लिनकै लागि टाढा–टाढादेखि आएर बैंकमा पालो कुर्नुपर्ने झन्झट चन्दले अन्त्य गरिदिएका छन् ।

सुर्खेतको पूर्वी भेगमा अवस्थित सिम्ता गाउँपालिकामा ९ वटा वडा छन् । करिब २५ हजार जनसंख्या रहेको गाउँपालिकामा एउटा मात्रै बैंक भएका कारण बैंकलाई सेवाग्राहीको चाप धान्न तथा सेवाग्राहीले सेवा लिन सास्ती खेप्न परिरहेको थियो । गाउँपालिकाको यो निर्णयबाट जनताले बल्ल स्थानीय तह भएको महसुस गर्न पाएका छन् ।

अध्यक्ष चन्द गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भइ सिम्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले नेपाली काङ्ग्रेसका उम्मेदवार वीरेन्द्र रावतलाई ३१८ मतान्तरले पराजित गरेका थिए । नौ वटा वडा रहेको यो पालिकामा पाँच वटामा एमाले र चार वटामा काङ्ग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।