
काठमाडौं, ११ भदौ । साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ ।
५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
परिषद् अध्यक्ष गंगा लामिटारे र सचिव खेम रिजालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रकाश आङ्देम्बे, त्यो व्यक्ति हो जसले शरणार्थी शिविरको एउटा घोर निराशाजन्य अवस्थामा थुप्रै युवायुवतीहरुलाई साहित्यको, सिर्जनाको नयाँ संसारतिर डोहोर्याउन अभिप्रेरित गर्यो । जुनबोला शरणार्थीहरुलाई स्थानीयहरुले अनेक बहानामा लाञ्छना लगाउने अनि अपमानपूर्ण र तिरस्कृत दृष्टिले हेरेको समयमा सिर्जनाका माध्यमबाट भुटानी समाजलाई नेपाली समाजसँग जोड्ने क्रियाशील हुनुहुन्थ्यो । तपाईकै लेखन तथा निर्देशनमा भुटानीहरुसंग सम्बन्धीत चलचित्र ‘देश खोज्दै जादा’ समेत बनेको छ ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘एउटा कहालीलाग्दो समयमा रुमल्लिरहेका भुटानी नवप्रवेशी लेखकहरुका आसा, भरोषाका केन्द्र तथा साहित्य साधकको रुपमा चित्रण गर्दै परिषद्ले साहित्यकार आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेका हौं ।’
परिषद्ले भदौ २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ ।















प्रतिक्रिया