
काठमाडौं, ११ भदौ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले एमालेसँग गठबन्धन गर्न चाहनेहरूका लागि ढोका खुला रहेको बताएका छन् ।
विचारको आधारमा एमालेले अन्य दलसँग चुनावी तालमेल र गठबन्धन गर्ने तामाङको भनाइ छ । ‘एमालेसँग गठबन्धन गर्न चाहनेहरूसँग हामी विचारको आधारमा खुला छौँ,’ नेता तामाङले भने, ‘हामीले प्रष्ट भनेका छौं, लोकतन्त्रवादी, देशभक्त र प्रगतिशील शक्तिले एमालेसँगको साथमा उभिन्छौँ भनेर आउनुभयो भने हामी उभ्याउँछौं ।’
तर, बामपन्थी हुँ भन्नेहरूका लागि एमालेले शर्तसहित गठबन्धनमा स्वीकार गर्ने पनि उनले स्पष्ट पारेका छन् । ‘एमालेको साथमा उभिन चाहने बामपन्थी शक्तिलाई हाम्रा शर्त छन्,’ उनले भने, ‘बामपन्थी भन्ने शक्तिहरूले एमालेसँग गठबन्धन गर्दा एमालेको झण्डा र चुनाव चिह्न प्रयोग गर्नुपर्छ ।’
त्यस्तै उनले बामपन्थी भन्ने तर, अर्काको घरमा मीठो बासना आउनासाथ सुइँकुच्चा ठोकिहाल्नेहरूसँग एमालेले कुनै पनि प्रकारको तालमेल नगर्ने नीति लिएको पनि बताएका छन् । ‘ वापमन्थी नाम गर्ने अनि धेरै चुलो पकाउने, पकाएर बाँड्ने बेलामा अर्को घरको मीठो बासना आयो भनेर घर सरिहाल्नेसँग एमालेको कुनै विश्वास छैन, त्यस्ता शक्तिले एमालेतिर नहेरे पनि हुन्छ,’ तामाङले भने ।















प्रतिक्रिया