४ कार्तिक २०८३, बुधबार

सरकारविरुद्ध आन्दोलनमा उत्रिने उपभोक्ता संरक्षण महासंघको तयारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेपाली उपभोक्ता संरक्षण महासंघले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको बताएको छ ।

सरकारले मुलुकमा भइरहेको कालोबजारी, मूल्यवृद्धि एवम् गुणस्तरहीन वस्तुको विक्रीवितरण नियन्त्रण नगरेको भन्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो । महासंघले गुणस्तरहीन खाद्यान्नलगायतले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै तत्काल त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

गत साउन २६ र २७ गते प्रथम राष्ट्रिय महाधिवेशनले पारित गरी घोषणा गरेका विषयहरूको जानकारी दिन आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्र साउँदले सरकारले कालोबजारी, मूल्यवृद्धि एवम् गुणस्तरहीन वस्तुको विक्रीवितरण तत्काल नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

उनले नेपाली उपभोक्ताहरू धेरै विषयवस्तुमा ठगिनुपरेको टिप्पणी गर्दै सडकबाटै प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारलाई ज्ञापनपत्र बुझाउने घोषणा पनि गरेका छन् । उपभोक्ताको अधिकार संरक्षण गर्नका लागि गठन गरिएका सबै संयन्त्रलाई क्रियाशील बनाएर सबै क्षेत्रका अनुगमन समितिमा महासघंको प्रतिनिधित्वको सुनिश्चितता गर्न उनले माग गरे ।

महासंघमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ वटा संघहरू आबद्ध छन् । महासंघको सात वटा प्रदेश समितिहरू तथा विभिन्न जिल्ला समितिहरू क्रियाशील रहेको बताइएको छ ।