
काठमाडौं, १० भदौ । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था एभरेष्ट प्रेस क्लबका सदस्य एवम् अग्रज पत्रकार शंकर कार्कीको ६६ वर्षको उमेरमा निधन भएको छ ।
अनामनगरस्थित पत्रिकाको कार्यालयमा काम गरिरहेका पत्रकार कार्कीको शुक्रबार बिहान साढे ८ बजे निधन भएको हो । कार्यस्थलमा व्यस्त रहेकै बेला हृदयघात भएपछि उनलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिए पनि बचाउन नसकिएको उनको परिवारले जानकारी दिएको छ ।
विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका कार्की पछिल्लो पटक जानकारी साप्ताहिकका सम्पादक/प्रकाशक थिए ।
२०१३ सालमा खोटाङमा जन्मिएका कार्की विगत चार दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय रहँदै आएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।
कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघले श्रद्घाञ्जली अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेका छ ।















प्रतिक्रिया