सिन्धुपाल्चोक, २३ वैशाख । विनाशकारी महाभूकम्पले सर्वाधिक क्षति पुर्याएको सिन्धुपाल्चोकका ९० प्रतिशतभन्दा बढी शैक्षिक संस्था ध्वस्त बनाएको छ । सरकारले आगामी जेठ ३ गतेबाट शैक्षिक संस्था सस्था सञ्चालन गर्न सूचना जारी गरे पनि विद्यालय भवन नै नरहेपछि झण्डै ८८ हजार विद्यार्थीको पढाई अन्यौलमा परेको छ। पढाई कहिले, कहाँ, कसरी सञ्चालन गर्ने भन्ने पत्तो छैन।जिल्लामा प्रावि, निमावि र मावि गरी ८ सय ४८ तह सञ्चालनमा थिए। कार्यालयका अनुसार पूर्वबालविकास केन्द्रदेखि उच्च माविसम्म ८७ हजार ९ सय ४७ विद्यार्थी अध्ययनरत थिए। नयाँ शैक्षिक सत्र सुरुसँगै विद्यार्थी भर्ना अभियान चलिरहेका बेला महाभूकम्प गएको हो। नयाँ भर्ना हुनेसहित प्रभावित बालबालिका अझै बढ्न सक्छ। जिल्लामा दरबन्दी र राहत गरी २ हजार १ सय २४ शिक्षक कार्यरत छन्। निजी स्रोतमा राखिएका शिक्षकको तथ्यांक शिक्षा कार्यालयसँग छैन।
सरकारले पढाई सञ्चालन बारे सूचना जारी गरेपछि कार्यालयले विद्यालयलाई त्यही जानकारी सर्कुलर गरेको छ। ‘तर कसरी विद्यालय सञ्चालन गर्ने भन्ने अन्यौल छ,’ सहयाक जिशिअ कोइरालाले भने। वैशाख मशान्तसम्म नजिकको खाली स्थान, बचेका संरचनामा बालबालिका भेला गरेर मनोविमर्श कक्षा सञ्चालन गर्न विद्यालयलाई आग्रह गरेको उनले जनाए। कोइरालाका अनुसार प्रलयकारी भूकम्प, पटक–पटकको धक्का, कहाली लाग्दो ध्वंस, आफ्नै घर तथा छिमेकमा परेको शोक, खुला आकाशमूनिको बास लगायत कारण बालबालिकामा मनोबैज्ञानिक असर देखिन्छ।
‘नियमित कक्षा सञ्चालन अघि मनोबिमर्श कक्षा चलाउनु पर्ने आवश्यकता देखियो,’ उनी भन्छन्। जेठ ३ बाटै कक्षा सञ्चालन गर्न बैकल्पिक उपाय खोजी गर्न पनि कार्यालयले विद्यालयलाई आग्रह गरेको छ। पाल र टेन्ट पाउनसके पढाई सञ्चालन गर्न सकिने कोइराला बताउँछन्।
१६ शिक्षकको मृत्यु
महाभूकम्पको मूख्य प्रभावित जिल्ला सिन्धुपाल्चोककको शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित भयो। शिक्षा कार्यालयले अहिलेसम्म प्राप्त गरेको तथ्यांकअनुसार १६ शिक्षकको भूकम्पबाट ज्यान गएको छ। विवरण प्राप्त हुने क्रममा रहेकाले यो संख्या अझै बढ्ने अनुमान छ।
भूकम्पमा परी ज्यान गुमाउनेमा रत्नराज्य मावि चनौटेका प्रधानाध्यापक लीलाप्रसाद घिमिरे, कृष्णरत्न गंगा चौताराका सुरेशकुमार श्रेष्ठ, दामादर घिमिरे, कमला भण्डारी, ज्ञानी प्रधान, रीता सापकोटा, प्रमिला खत्री, मीरा श्रेष्ठ, सिर्जना लामा, भोला महतो, राजन नेपाल, अखिलेश्वर यादव लगायत छन्। ज्यान गुमाउनेमा धेरै शिक्षिका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया