
काठमाडौं, ९ भदौ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्ट फोनहरूको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टीभी कारखाना स्थापना गर्ने भएको छ ।
परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास गरिएको छ । सो समारोहमामा.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कको उपस्थिति थियो ।
यसैगरी समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवम् सीईओ केन काङ, दक्षिण कोरीयाका राजदूतश्री पार्क चोँग सुकलगायतको उपस्थिति थियो ।
यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरूवात गर्ने र स्थानीय उद्यम, नवीन शीप र दक्षता, आविष्कारहरू तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रूपान्तरण गर्ने सम्भावनाहरू व्यापक बनाउनको कम्पनीको भनाइ छ । साथै प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरू सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्ने विश्वास पनि गरिएको छ ।

कारखानाले सन् २०२३ देखि उत्पादन शुरू गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदारमार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरू टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरू बिक्रीवितरण गर्दै आइरहेको छ ।
नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरू र ग्राहक सेवा केन्द्रहरूको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।















प्रतिक्रिया