
काठमाडौं, ९ भदौ । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने बताएको छ ।
बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन् ।
गोर्खा सैनिकहरूलाई लामो समयदेखि भारतीय सेनामा भर्ती गरिरहेका बताउँदै उनले अब पनि गोर्खा भर्ती निरन्तर रहने स्पष्ट पारेका छन् । त्यस्तो भर्ती अग्निपथ योजनाअनुसार नै हुने उनको प्रष्टोक्ति छ ।
भारतीय सेनाको गोर्खा रेजिमेन्टमा मूलतः नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ । यसअघि नेपाल सरकारले नेपालीहरूलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो ।
परराष्ट्र मन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर अब भारतीय सैनिकमा नेपालीहरूको भर्ती सन् १९४७ को बेलायत, भारत र नेपालको सम्झौता अनुसार हुने हो कि होइन स्पष्ट हुनुपर्ने बताएका थिए ।
गत असार पहिलो साता भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो । साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन् ।
यो योजनाअनुसार भर्ती हुनेहरूले चार वर्षमात्र सेवा गर्न पाउने छन् । त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइनेछ । उनीहरूले पेन्सनको सुविधा पाउने छैनन् ।
नेपालले आफ्ना युवाहरूलाई पनि त्यही चार वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट नभएकाले पहिला त्यो स्पष्ट हुनु पर्ने बताएको हो ।















प्रतिक्रिया