काठमाडौं, २३ वैशाख । साउदी अरबको भिसा लागेपछि रामबहादुर चापागाई वैशाख ९ गते पर्वत, कटुवा चौपारी १ बाट अनगिन्ती सपना संगाल्दै काठमाडौं आइपुगेका थिए।घरको जेठो छोरा थिए उनी। परिवारको जिम्मेवारी पनि उनकै काँधमा बढी थियो। त्यसैले एसएलसी उत्तीर्ण हुनेबित्तिकै परिवारको आर्थिक गर्जो टार्न उनी भारत गएका थिए, मजदुरी गर्न। करिब ४ वर्ष दिल्लीमा मजदुरी गरेका २७ वर्षीय चापागाईलाई त्यहाँको कमाईले सन्तुष्टि दिएन। उनी फेरि घर फर्किए र वैदेशिक रोजगारीको लागि प्रयास गरे। १ वर्ष अघिमात्र उनी कतारबाट फर्किएका थिए। कतारबाट फर्किएपछि गाउँमै काम गर्दै आएका उनी दोस्रोपटक वैदेशिक रोजगारीका लागि उडान भर्ने तयारीमा थिए। तर त्यो सबै महाभूकम्पले पूरा हुन दिएन।
उनको परिवारमा आमा, बुबा र दुई भाइ छन्। ‘राम्रो काम छ भन्दै जानुभएको थियो,’ उनका भाइ भरतले भने, ‘तर आज यस्तो भयो, कमाउने दाई नै नभएपछि परिवार समस्यामा छ।’ साउदीमा स्टोर किपरको काम पाएको भन्दै उनी घरबाट हिँडेका थिए। स्टोरकिपरको काममा राम्रो कमाई हुने विश्वास उनले आमा, बुबालाई दिलाएका थिए। तर ती सबै कुरालाई भूकम्पले चकनाचुर बनाइदिएको छ।
उनी साथीहरुबीच पनि उत्तिकै प्रिय थिए। साथीहरु उनलाई रामू नामले बोलाउँथे। उनका साथी दिवाकर अधिकारीले भने, ‘अत्यान्तै मिलनसार र सरल साथी गुमाएमा छौं।’ मेहनती छोरा, प्रिय भाइ र गाउँका असल साथी रामबहादुरलाई गुमाउँदा गाउँ नै शोकमा डुबेको छ। उनलाई गुमाउँदा गाउँका मानिसहरुलाई सपनाजस्तै लागेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया