
काठमाडौं, ८ भदौ । उपचार गर्न लगिएका एक जना कैदी भागेपछि नख्खु कारागारका कार्यालय प्रमुख सुवासकुमार लामिछाने हटाइनुका साथै घटनाबारे छानविन गर्न समिति समेत गठन गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रमुख छामिछानेलाई हटाएर प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी घटनामाथि छानविन प्रक्रिया अगाडि बढाइएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आँखा जाँचका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएका कैदी पिल्पुङ गाउँपालिका–२ रामेछापका ३१ वर्षीय भोला बुढाथोकी आज बुधबार दिउँसो करिब सवा ४ बजेतिर फरार भएका थिए ।
कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिलेदेखिनै उपचार हुँदै आएको थियो । फलोअपको लागि आज अस्पताल लैजाँदा उनी भागेका हुन् । उनको एक हातमा हतकडी रहेको थियो ।
उपचारका लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ । सोही मौका पारी उनी भागेको बताइएको छ ।
कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आजैका मितिबाट नलम्बन गरिएको प्रहरी उपरीक्षक पालले जारी गरेको सूचनामा जनाइएको छ ।
















प्रतिक्रिया