४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीहरूलाई किन बोलाइन् शितलनिवास ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूलाई राष्ट्रपति भवन शितलनिवास बोलाएकी छिन् ।

आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई आज बुधबार शितलनिवास बोलाएर उनले छलफल गरेकी छिन् । यद्यपि, के–के विषयमा छलफल भयो र त्यसको अर्थ के हो भन्नेबारे केही खुलाइएको छैन ।

तर, प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक पुनरवलोकनका लागि फिर्ता पठाएको तथा सोही विधेयक जस्ताको त्यस्तै पुनः पारित भएको घटना वरिपरी भएको यस्तो भेटवार्ता अर्थपूर्ण रूपमा लिइएको छ ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग भेट गरेर उनीहरूलाई धन्यवाद दिएको स्रोतको भनाइ छ । त्यसो त राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको सट्टा राजीनामा दिएर विधेयक रोक्न लागेको चर्चा पनि राजनीतिक वृत्तमा चल्न थालेको छ । तर, यो चर्चामा सत्यता नभएको जानकारहरू बताउँछन् ।

राष्ट्रपति भण्डारीले देशको विषयमा चासो राख्दै पछिल्लो केही दिनयता विभिन्न प्रकारको भेटघाट तथा छलफललाई निरन्तरता दिँदै आएकी छिन् ।

यसै क्रममा उनले संविधानविद् र कानुनका ज्ञाताहरूसँग पनि छलफल गरिसकेकी छिन् । संविधानविद् र कानुनका ज्ञाताहरूहरूसँगको भेटघाट तथा छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्त गरेको बताइएको छ ।

घटनाक्रमहरूलाई विश्लेषण गर्ने हो भने उनले नागरिकता विधेयक प्रमाणीकरण गर्दा र नगर्दाको सम्भावित घटनाक्रमको परिदृश्यबारे विभिन्न विषयविज्ञहरूसँग छलफल गरेको बुझ्न सकिन्छ ।

दोस्रो कार्यकालको अन्तिमतिर आइपुगेकी राष्ट्रपति भण्डारीले जाँदाजाँदै नागरिकताको नाममा देशको हितविरुद्ध हुन लागिरहेको दीर्घकालीन षडयन्त्रलाई रोक्ने र त्यसका लागि आफूले जस्तोसुकै मूल्य चुकाउनसक्ने अनुमान गर्न थालिएको छ ।

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ । दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तिव्रता दिएकी छन् ।