
काठमाडौं, ८ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्ने बताएका छन् ।
बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।
उनले निजामती सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामति सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास भइ ऐन बन्नसक्ने बताए । सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अहिलेसम्मको मिहेनत शून्यमा परिणत हुने उनको भनाइ छ ।
अध्यक्ष तिमिल्सिनाले कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्ने बारेमा सोच्न जरुरी रहेको पनि बताएका छन् । उनले कर्मचारीहरु कुनैपनि दलको नेताहरुसँग चाप्लुसी गर्न छोडेर जनतामा सहज सेवा बिस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेकोमा जोड दिएका छन् ।















प्रतिक्रिया