
काठमाडौं, ७ भदौ । नेपाल समाजवादी पार्टीको अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न निर्वाचनअघि नै रेशम चौधरीसहित सबै राजबन्दीहरू रिहाई हुनुपर्ने बताएका छन् ।
कैलालीको टीकापुर घटनाको सात वर्ष बितिसक्ला पनि त्यसको छानविन गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक नगर्नु दुःखद भएको बताउँदै डा. भट्टराईले टीकापुर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीलगायतका राजवन्दीहरू आसन्न निर्वाचनअगावै रिहाइ हुनुपर्ने बताएका हुन् ।
राजबन्दीहरू जेलमा रहनु विडम्बनापूर्ण भएकाले उनीहरूलाई रिहाइ गरेर समस्याको समाधान गर्नुपर्ने डा. भट्टराईको माग छ ।
‘टीकापुर घटनाको सात वर्ष (भदौ ७) पूरा भैसक्दा पनि त्यसको छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु र टीकापुरक्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरी लगायतका राजवन्दीहरू जेलमा रहनु विडम्बनापूर्ण छ । आसन्न निर्वाचन अगावै सबै राजबन्दीहरूको रिहाइ होस र समस्या हल होस्,’ भट्टराई मंगलबार अबेर ट्विट गर्दै भनेका छन् ।
२०७२ साल भदौ ७ गते अर्थात् आजैका दिन थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको थियो ।
उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् । घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।
टीकापुर घटनामा संलग्न भएको ठहरसहित कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम चौधरी र श्रवण चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो । श्रवण चौधरीलाई नाबालक भएकाले आधा अर्थात १० वर्ष सजाय तोकिएको थियो ।
यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए । तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्मकैद हुुने फैसला सुनाइएको थियो । अहिले उनी फरार छन् ।
६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ ।
अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ ।















प्रतिक्रिया