
काठमाडौं । चलचित्र ‘बुलाकी’ फागुन १९ गते दर्शकमाझ आउने भएको छ ।
केही महिनाअघि नै कात्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भए पनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरी मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र बिष्टले दिएका छन् ।
‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसियतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौँ,’ निर्माता बिष्टले भने, ‘चुनावको माहोलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले चलचित्रको प्रदर्शन मिति सारेका हौँ ।’
लक्ष्मण सुनार निर्देशित चलचित्रको मंगलबार नै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ‘फर्स्टलुक’ बाटै चर्चा बटुल्न सफल चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् ।
स्व.मोती बिष्टको प्रस्तुति रहेको चलचित्र छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । कर्णाली भेगको जनजीवन र प्रथामा आधारित चलचित्रलाई शिव ढकालले खिचेका हुन् भने अर्जुन जीसीले सम्पादन गरेका हुन् ।
गोपाल कायस्थ र एफडीले वितरण गर्ने चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम् अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।















प्रतिक्रिया