४ कार्तिक २०८३, बुधबार

देउराली सहकारीले भन्यो– हल्ला चलाइएजस्तो समस्यामा छैनौं, बचत फिर्ताको सट्टा जग्गा दिन्छौँ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । कोरोना महामारीको असर, अर्थजगतमा निरन्तरको तरलता समस्या र आर्थिक मन्दीको प्रभाव स्वरूप देउराली बहुउद्देश्यीय सहकारीमा केही समस्या देखिए पनि ती हल हुने दिशामा रहेको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईले बताएका छन् ।

बजारमा देउराली बहुउद्देश्यीय सहकारी समस्यामा गयो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिजाइएपछि निक्षेपकर्ताहरूलाई डाकेर पत्रकार सम्मेलन गर्दै अध्यक्ष चौलागाईले यस्तोप्रष्टीकरण दिएका हुन् । संस्थाको सदस्यहरूको भेला सोमबार ललितपुर पार्टी प्यालेसमा गरिएको थियो ।

सो अवसरमा अध्यक्ष चौलागाईले सदस्यहरूका प्रश्न तथा गुनासाहरूको जवाफ दिएका थिए । उनले कसैले पनि आत्तिनु नपर्ने र सबैको निक्षेप सावाँ–ब्याजसहित फिर्ता हुने बताएका छन् । त्यसका लागि सबैले धैर्यता राख्नुपर्ने र सङ्कटपूर्ण राष्ट्रिय आर्थिक अवस्थाको परिस्थितिलाई बुझनु पर्ने उनको भनाइ छ ।

उनले निक्षेप फिर्ता लिन गर्न चाहनेहरूका लागि दुई चरणमा दुई वटा विकल्प दिएर सावाँ ब्याजसहित फिर्ता गर्ने बताएका छन् । अन्य सहकारीहरूमा देखिएका समस्या एवम् विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरू आत्तिएको भन्दै उनले देउराली बहुउद्देश्यीय सहकारी संस्था भने डुब्ने नै गरी कुनै समस्या नभएको बताएका छन् । विगत केहि महिनायता संस्थामा तरलताजन्य समस्या आएको भए पनि त्यसको विस्तारै हल हुँदै जाने विश्वास उनले व्यक्त गरेका छन् ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष चौलागाईले संस्थामा सबै शीर्षकमा रहेका बचत रकमलाई दुई भागमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना प्रस्तुत गरेका छन् । पाँच लाखसम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दा माथिका लागि ठूलो बचतकर्ताको रूपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना उनले पस्केका छन् ।

संस्थाको रकम दुरूपयोग भएको नभइ लगानी गरेका ठाउँहरूबाट रकम उठती नभएको कारण समस्या देखिएको चौलागाईले स्पष्ट पारेका छन् । पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरूलाई तत्कालै संस्थाको ३ वटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जाने र ५ लाख भन्दा बढी बचत रकम भएकाहरूलाई २ वर्षभित्र सम्पूर्ण रकम फिर्ता गरिने अध्यक्ष चौलागाईले बताए ।

५ लाख बढीका निक्षेपकर्ताहरूले बचत सुरक्षणका लागि घडेरीको रूपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरी बचत रकम सुरक्षण गर्ने योजना सुनाए ।

चौलागाईले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरेका छन् । मेघौली लगायत अरु विभिन्न ठाउँहरूमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठूला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरूले रकमको सट्टा प्लट नै लिन पनि पाउने संस्थाले बताएको छ ।

त्यसैगरी संस्थाले दुई महिना यता तरलता समस्याका कारण टोकन सिस्टममा चलाइएका सबै काउन्टर नर्मल रूपमा खोल्ने भएको छ । ५ लाखसम्म बचत रहेका साना बचतकर्ताको रकम अविलम्ब फिर्ता गर्दै जाने बताएको छ । बहुउद्देश्यीय सहकारी भएको हिसाबले संस्थाले विभिन्न ठाउँमा गरेको लगानीको प्रतिफल प्राप्त नभइसकेको अवस्थामा केही समस्याहरू देखिएको भए पनि संस्था सुदृढ रहेको अध्यक्ष चौलागाईले बताए ।

कोभिडका कारण संस्थाद्वारा प्रवाह गरिएका कर्जा रकम नउठेको भए पनि विस्तारै उठ्दै गएपछि संस्था लयमा फर्किने उनले बताए । उनले संस्थाले आर्थिक मन्दीसँग जुधेर आफ्ना सबै लक्ष्य उद्देश्य हासिल गर्ने ठोकुवा समेत गरेका छन् ।

करिब २० हजार सदस्यहरू रहेको देउराली बहुउद्देश्यीय सहकारीले निक्षेपकर्ताहरूबाट ३ अर्ब बचत सङ्कलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरूको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । संस्थाले प्रवाह गरेको कर्जा समयमा नै नउठेको र कोभिड लगायत देशमा प्रकट भएको आर्थिक मन्दीका कारण समस्या सिर्जेको अध्यक्ष चौलागाईले बताएका छन् ।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरी ३ वटा काउन्टर छन् ।