
काठमाडौं, ७ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजवादी चिन्तक एवम् नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरि सबै राजनीतिकर्मीका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहने बताएका छन् ।
नेता गिरीको निधनपछि मन्त्री कार्कीले उनको स्मरण गर्दै राजनीतिक अभियन्ताहरूका लागि नेता गिरी प्रेरणा भएको बताएका हुन् ।
‘प्रदीप दाइ आफू अस्ताउनुभयो, तर नेपाली राजनीतिमा सिद्धान्त, निष्ठा र विचारको एउटा कहिल्यै ननिभ्ने दीयो जगाउनुभयो, एक राजनीतिकर्मी सधैँ पद र प्रलोभनबाट बाहिर बस्न रुचाउनुभयो,’ उनले भने । नेता गिरीले आफूलाई राजनीति, दर्शन, साहित्य र विचारको एउटा विश्वकोषका रूपमा अग्ल्याएर सधैँ साधारण जीवनयापनमा रमाएको कार्कीको भनाइ छ ।
‘प्रदीप दाइको सरल जीवनशैली, असल चिन्तन र समयानुकूल विचार हरेक राजनीतिक पार्टी र राजनीतिकर्मी सबैका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहनेछ,’ उनले भने ।
लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित नेता गिरिको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।















प्रतिक्रिया