
बन्दीपुर (तनहुँ), ६ भदौ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको साझेदारी र म्याग्दे गाँउपालिकाको आयोजनामा म्याग्दे गाँउपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि दुईदिने योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक प्रशिक्षण शुरु भएको छ ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गरेका छन् । कार्यक्रममा स्थानीय विकास प्रशिक्षणका उपनिर्देशक हरिकृष्ण कोइराला, श्रोत व्यक्ति उदय खनाललगायतले नवनिर्वाचित जनप्रतिनिधिलाई जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारसम्बन्धी तालिम दिने म्याग्दे गाउँपालिकाका प्रशाशकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रममा बन्दीपुर गाँउपालिकाका अध्यक्ष सुरेन्द्र थापाले अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकारको बारेमा सुसूचित हुने अवसर प्राप्त हुने बताए । जनप्रतिनिधिहरूले जनताका कामका बारेमा जानकारी लिने र कार्यान्वयन गर्ने हो भने जनताले सहज सेवा पाउने उनको विश्वास छ ।
यसैगरी म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जनप्रतिनिधि सधैं अनभिज्ञ बन्दा कार्यसम्पादनमा कठिनाई आइरहेको बताउँदै यसको व्यावहारिक कार्यन्वयनमा प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गरे ।
दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा शुभारम्भ, स्थानीय तहको काम, कर्तव्य र अधिकार, वडा समिति र वडाध्यक्षको काम, कर्तव्य र अधिकार, संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धसम्बन्धी प्रशिक्षण रहनेछ ।

यसैगरी स्थानीय तहको राजश्व अधिकार तथा अन्तर–सरकारी वित्तीय हस्तान्तरण, स्थानीय तहमा उपभोक्ता समितिको गठन, काम, कर्तव्य र अधिकार, व्यावहारिक समस्या केन्द्रित छलफल र सार्वजनिक खरीद, विकास योजना, भवन निर्माणसम्बन्धी आचारसहिंता तथा मापदण्ड कार्यक्रम, मूल्याङ्कनसम्बन्धी अभिमुखीकरण हुनेछ ।
यसैगरी अभिमुखीकरणको दोश्रो दिन स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, मध्यमकालीन खर्च संरचना, सकारात्मक सोच र स्थानीय तहमा सुशासन प्रवर्द्धन, स्थानीय तहको असल अभ्यास र संघ र प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धसम्बन्धी प्रशिक्षण हुने कार्यकारी अधिकृत अधिकारीले जानकारी दिएका छन् ।
अभिमुखीकरण कार्यक्रमा म्याग्दे गाँउपालिकाभित्रका वडा वडाध्यक्ष, सदस्य, कार्यकारीणी सदस्य, कर्मचारीलगायत जनप्रतिनिधिहरूको उपस्थिति छ ।















प्रतिक्रिया