
सिन्धुपाल्चोक, ६ भदौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भोगचलन गर्दै आएको नेपाली भूमिबारे वर्तमान सरकार र गठबन्धनका नेताहरूले बोल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज सोमबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामै उच्चारण गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो भन्नुस् भन्दै प्रश्न गरेका छन् ।
आफ्नो नेतृत्वको तत्कालीन सरकारले नयाँ नक्सा जारी गरेको र नेपाली भूमि फिर्ता गर्न भारतलाई पत्राचार गरेको भए पनि वर्तमान सरकार र गठबन्धनका नेताहरूले त्यसलाई निरन्तरता नदिएको भन्दै उनले आक्रोशसहित चिन्ता व्यक्त गरेका छन् ।
‘म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीजी, तपाईंको प्रदेशको नक्सा, तपाईंको जिल्लाभन्दा एक जिला परतिरको नक्सा, लिम्पियाधुरा, लिपुलेक र कालापानी तपाईंको हो कि होइन ?,’ ओलीले प्रश्न गरे ।
त्यस्तै हालै भारत भ्रमणका बेला माओवादीका अध्यक्ष प्रचण्डले नेपालको भूमिबारे कुनै कुरा नगरेको भन्दै ओलीले भने, ‘महान क्रान्तिकारी भन्ने प्रचण्डजी लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो भन्नुस् ?’















प्रतिक्रिया