
काठमाडौं, ६ भदौ । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ क्षेत्रमा सञ्चालित पसलहरू हटाउन शुरू गरेको छ ।
सवारी साधनको पार्किङका लागि भनेर अनुमति माग्ने तथा उक्त ठाउँलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेर आर्थिक लाभ लिइरहेको भन्दै महानगरले त्यस्ता संरचना भत्काउने अभियान नै शुरू गरेको छ ।
यसै क्रममा आज सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको पश्चिम गेटअगाडि रहेको व्यापारिक भवनका संरचनाहरू महानगरले नै भत्काउन शुरू गरेको छ ।
महानगरले अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायत त्यस क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर स्थायी संरचना भत्काउन थालेको बताएको छ ।
महानगरपालिकाले यसअघि भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, उक्त सूचनाको म्याद सकिदासम्म पनि सूचनाको बेवास्ता गरी व्यापार सुचारु राखेको भन्दै महानगरका मेयर बालेनद्र साह आफै उपस्थित भएर अन्डरग्राउण्ड पार्किङको अनुगमन तथा भत्काउन शुरू गरिएको हो ।
व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङ बन्द गरी व्यवसा चलाउँदा फुटपाथमा पार्किङ गर्ने क्रम बढेसँगै ट्राफिक जामको समस्या समेत निम्तिएको छ ।
यसरी फुटपाथमा पार्किङ गरेर सामान किनमलेल तथा खाजा–खानामा जाने सवारीधनीहरू चर्को ट्राफिक कारबाहीमा समेत पर्दै आएका छन् ।















प्रतिक्रिया