
काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ ।
७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
घाँटीको क्यान्सरबाट पीडित गिरिलाई निमोनियाले समेत तीव्र रूपमा च्यापेपछि गत साउन दोस्रो सातादेखि अस्पताल भनाए भइ निरन्तर उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा आज शनिबार राति ९ बजेर ३६ मिनेटको समयमा उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।
सिराहामा जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनका पिता नेत्रलाल गिरि कांग्रेसका नेता भएकै कारण उनी २०१७ सालदेखि काङ्ग्रेसको राजनीतिमा सक्रिय भएका थिए ।
नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरि चार वर्ष जेल जीवन बिताएका थिए । कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेका गिरि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय थिए ।
उनले एक दर्जन भन्दा बढी पुस्तक लेखेका छन् । महात्मा गान्धीका अनुवायी गिरि नेपालमा मार्क्सवादको राम्रो ब्याख्या गर्नसक्ने व्यक्तिमा पर्छन् ।
२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरिले २०५६ सालको संसदीय निर्वाचनमा पनि सहभागीता जनाएका थिए । पछिल्लो समय हाज उनी प्रतिनिधिसभा सदस्य समेत थिए ।
















प्रतिक्रिया