४ कार्तिक २०८३, बुधबार

प्रतिनिधिसभा सदस्यका लागि सर्लाही–२ बाट उम्मेदवारी दिँदै डा. बैठा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । सर्लाहीको मलङ्गवा नगरपालिका–५ का स्थानीय डा. वीरबंश बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि शिक्षण पेशामा आबद्ध बैठाले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । उम्मेदवार बन्नकै लागि उनले भदौ १ गते नै शिक्षण पेशाबाट राजीनामा दिइसकेका छन् ।

थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत पाएका बैठा नेपाल विश्वको तुलनामा सबै क्षेत्रमा धेरै पछि परेको र नेपालमा पनि मधेश अझै धेरै पछि परेको बताउँछन् । उनले भने, ‘मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षार हुन सकेन । यो दुःखदायी कुरा हो । ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ ।’

उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यस कालदेखि आजको दिनसम्म देश र जनताले सुखानुभूति गर्न नपाएको गुनासो पोखे । उनले देशमा नेता नभएको पनि दाबी गरेका छन् ।

‘नेपालमा थर्ड क्लास पोलिटिसियन छन् । नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु भनाउँदासँग मिशन, भिजन र डेडिकेशन छैन् । दलमा स्थिरता छैन् । गठबन्धन अनि महागठबन्धन बनाउने, यस्तो पनि हुन्छ ? यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ।’

उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’

उनले आफ्नो उम्मेदवारी सर्लाही क्षेत्र नम्बर २ का जनताको आवाज भएको दाबी गरेका छन् ।