
काठमाडौं, ३ भदौ । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरि यतिबेला ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन् ।
घाँटीको क्यान्सरबाट लामो समयदेखि पीडित नेता गिरिलाई पछिल्लो समय निमोनियाले समेत सताइरहेको छ । साउन दोस्रो सातादेखि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको स्वास्थ्यवस्था झन्–झन् बिग्रिदै गएपछि उनलाई भेट्न पार्टीका नेताहरू र सुभेच्छुकहरूको बाक्लो भीड अस्पतालमा लाग्न थालेको छ ।
यसै क्रममा आज शुक्रबार अस्पताल पुगेका पार्टीका नेताद्वय बिमलेन्द्र निधि र रामहरि खतिवडाले नेता गिरिबारे भावुक प्रतिक्रिया जनाएका छन् । नेता निधिले गिरिको स्वास्थ्यमा सुधारका लागि ईश्वरसँग प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन् भने खतिवडाले बोलाउँदा गिरिले बोल्ने प्रयासै नगरेको उल्लेख गरेका छन् ।
‘आज पनि म कृष्ण प्रसाद भट्टराई जस्तै सम्मान गर्ने नेता प्रदीप गिरि भेट्न अस्पतालमा पुगेँ । बोलाउन खोजेँ, बोल्ने प्रयास गर्नु भएन । भगवानसँग अनुरोध गरियो, छिटोभन्दा छिटो स्वस्थ्य भएको देख्न पाउँ,’ काङ्ग्रेसका नेता एवम् संविधानसभा सदस्य रामहरि खतिवडाले अस्पतालबाट फर्किएर ट्विट गरेका छन् ।
गिरिलाई गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यस्तै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत व्यक्तिहरूले उनलाई भेटेर स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
आज पनि म कृष्ण प्रसाद भट्टराई जस्तै सम्मान गर्ने नेता प्रदीप गिरी भेट्न अस्पतालमा पुगे ।
बोलाउन खोजे ,बोल्ने प्रयास गर्नु भएन ।
भगवान संग अनुरोध गरियो, छिटोभन्दा छिटो स्वस्थ्य भएको देख्न पाउ। pic.twitter.com/C2ZdViieCz— Ramhari Khatiwada (@RamhariKhatiwa) August 19, 2022















प्रतिक्रिया