
मकवानपुर, ३ भदौ । नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लाग्दा एक जना बालक गम्भीर घाइते भएका छन् ।
जिल्लाको थाहानगर नगरपालिका–९ चित्लाङ खलिबनमा करेन्ट लाग्दा ११ वर्षका सुदिप तामाङ गम्भीर घाइते भएका हुन् । करेन्ट लागेर उनको हातै छिनेको छ भने शरीरको विभिन्न भागमा गम्भीर क्षति पुगेको छ ।
घाइते बालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) राखेर उपचार भइरहेको छ । उनको अवस्था अत्यन्त गम्भीर रहको डाक्टरहरूले बताएका छन् ।
तामाङलाई आज दिउँसो घरनजिकै खेल्ने क्रममा करेन्ट लागेको थियो । खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा चङ्गा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको बताइएको छ ।
केही समयअगाडि मात्र निर्माण भएको ३३ हजार केभीए लाइनको पोल पूरै ढल्केको र तार पनि जमीनबाटै छुने देखिन्छ । यस बारेमा प्राधिकरणसमक्ष गुनासो गरे पनि सुनुवाई नभएको स्थानीय सानुकान्छा तामाङले बताए । उनका अनुसार गाउँलेहरूलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको पनि थाहा छैन ।
उनी भन्छन, ‘केही समयअघि मात्र प्राधिकरणबाट निरीक्षणका लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरूलाई पोल र तार व्यवस्थित नगरी लाइन नछोड्न भनेका थियौं । उनीहरूले पनि सबै व्यवस्थित भएपश्चात मात्र करेन्ट छोड्ने बताएका थिए । तर, कहिले लाइन छोडे हामीलाई थाहा भएन । यदि सूचना थाहा हुन्थ्यो भने आजको घटना घट्ने थिएन कि ! अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।’
घटनाको विषयमा प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले नेपालको सबैतिरको माटो नै बग्ने खालको भएको हुँदा पोलहरू ढल्किने बताउँदै त्यसरी पोल, तारमा केही समस्या आए वितरण केन्द्रले हेर्ने हुँदा उनीहरूसँग बुझेर मात्र के भएको हो भन्न सकिने प्रतिक्रिया दिएका छन् ।















प्रतिक्रिया