
काठमाडौं, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपालाई आफ्नो पितासँग तुलना गरेकी छिन् ।
केही समयअघि भएको मन्त्री हेरफेरयता नेता नेपाल र नेतृ झाँक्रीबीच तिक्तता चलिरहेको छ । सतहमै छचल्किएको उक्त तिक्तता अन्त्यको प्रयासस्वरुप झाँक्रीले आज माधव नेपाललाई आफ्नो ‘पितासरह’ भएको टिप्पणी गर्दै फकाउने प्रयास गरेकी छिन् ।
एमाले छोडेर नयाँ पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गर्न गएको दिनको आज सम्झना गर्दै उनले माधव नेपाल नेपाली राजनीतिमा अर्को एउटा मूल्यको राजनितीको मानक भएको टिप्पणी समेत गरेकी छिन् ।
‘गत वर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो । मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो । हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो,’ उनले भनेकी छिन् ।
नेता नेपाल र आफूबीच भइरहेको विवादको चर्चा हल्लामात्रै भएको दाबी गर्दै उनले भनेकी छिन्, ‘बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार तथा विचार आएको देख्छु । यो कुरा गलत हो । देशैभरीका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहान्छु ।’
नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता भएको उनले बताएकी छिन् ।















प्रतिक्रिया