२ कार्तिक २०८३, सोमबार

साहित्य, संगीत र पत्रकारितामा योगदान गरेकालाई अमेरिकामा स्थापित संस्थाद्वारा सम्मान

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली साहित्य, सञ्चारलगायतका क्षेत्रमा रही योगदान गरेकालाई एन एण्ड जे इन्टरटेनमेन्ट एन वाईइन्क अमेरिकाले सम्मानित गरेको छ।

काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा हालै ‘पुरस्कार समर्पण समारोह’ कार्यक्रम गरी सम्मानित गरिएको हो। प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि थिए। आयोजककी संस्थापक अध्यक्ष, पुरस्कार संरक्षक तथा साहित्यकार कमला प्रसाईंको सभापतित्वमा कार्यक्रम भएको थियो।

‘कमला प्रसाईं साहित्य साधना पुरस्कार २०७९’ बाट बरिष्ठ निबन्धकार कृष्ण प्रधान, प्राज्ञ माया ठकुरी, साहित्यका प्राडा. गार्गी शर्मालाई सम्मानित गरिएको हो।

यस्तै, ‘कमला प्रसाईं संगीत साधना पुरस्कार २०७९’बाट गायक ओमबिक्रम बिष्टलाई प्रदान गरिएको थियो। ‘यमबुद्ध पुरस्कार २०७९’बाट काठमाडौंका मेयर बालेन साहलाई सम्मानित गरियो। ‘स्व. अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कार २०७९’ धरानका मेयर हर्क साङपाङलाई प्रदान गरिएको आयोजकले जनाएको छ।

‘श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नालिजम पुरस्कार २०७९’ बाट मणिराम दाहाल र विश्वराज थापालाई प्रदान गरिएको छ। कवि विक्रम शाह समाजसेवा पुरस्कार २०७९बाट बिष्णु गौतम, र सरु सुबेदीलाई प्रदान गरिएको छ। कुलपति उप्रेतीले सम्मानपत्र सहित जनही नगद २५ हजार प्रदान गरेका थिए।

यमबुद्ध फाउन्डेशनका संस्थापक अम्बिकाप्रसाद अधिकारीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। त्यस्तै पुरस्कृत ब्यक्तिहरूको तर्फबाट कृष्ण प्रधान, माया ठकुरी तथा प्राडा गार्गी शर्मा लगायतले बोलेका थिए ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी उप्रेतीले प्रवासमा रहेर पनि आफ्नो देश नेपालमा रहेका स्रष्टा र सञ्चार क्षेत्रलाई गरेको यो सम्मान महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए।

उनले समारोहमा नेपाली भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा उल्लेखनीय  योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा खुसि लागेको बताउँदै कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिए।

संस्थाकी अध्यक्ष प्रसाईंले प्रवासमा रहँदा पनि मातृभूमी र साहित्यमा कलम चलाउन नछोडेकै कारण प्रत्येक २ बर्षमा आउँदा यसरी साहित्यकार तथा सञ्चारकर्मीसँग साक्षात्कार गर्ने अवसरको अपेक्षा गरेकी छन्।

कार्यक्रममा पूर्वराजाका सञ्चार विज्ञ डा. फणिन्द्र पाठक, पुष्पराज पुरुष, देवकी अभिलासी, कबिन बिक्रम शाहलगायतको सहभागीता रहेको थियो।