२ कार्तिक २०८३, सोमबार

‘हेल्लो जिन्दगी’ पछि ‘राधा’ ल्याउँदै जोशी, भदौ १० गतेदेखि प्रदर्शनमा आउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि बेलायतमा बस्दै आइरहेका भए पनि नेपाली चलचित्र अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो, विक्रम डी जोशी (बिक्की) ।

नेपाली चलचित्रको गुणस्तरीय विकास, स्तरोन्नतिका साथै अन्तर्राष्ट्रिय बजार विस्तारका लागि अहोरात्र खटिइरहेका अभिनेता तथा निर्माता जोशी पुनः एक पटक दर्शकमाझ आउदैछन्, भदौ १० गते मल्टिस्टारर चलचित्र ‘दि सिक्रेट्स अफ राधा’ लिएर ।

यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ चलचित्रमार्फत अभिनेताका रुपमा दर्शकमाझ आफ्नो बेग्लै परिचय दिएका बिक्की यसपाली भने निर्माताका रुपमा मात्रै प्रस्तुत भएका छन्, ‘राधा’ मा । सुवर्ण थापा निर्देशित ‘राधा’ निर्माणमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र वीरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टीम अप’ गरेका छन् ।

नारी शक्तिको विषयमा प्रस्तुत गरिएको फिल्मबाट बिक्की निकै आशावादी छन् । ‘हामीले निकै मेहनतका साथ ‘राधा’ निर्माण गरेका छौँ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्काे स्वरुप ‘राधा’ बनेको हो ।’

आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागिरहेको उनी बताउँछन् । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, लोकेन्द्र लेखक, पशुपति राईलगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक सुवर्णकै लेखन रहेको चलचित्र चित्लाङ र काठमाडौंमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छाँयाकार नरेन्द्र मैनाली हुन् ।

अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै फिल्ममा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता बिक्की ‘राधा’ ले दर्शकमाझ आफ्नो छाप छोड्नेमा विश्वस्त छन् ।

महारानी इन्टरटेन्मेन्ट युके, वीरञ्जना इन्टरटेन्मेन्ट्स, आदियोगी भिजन, मन्डला अनलाइन र एमी फिल्मस्को संयुक्त निर्माणमा बनेको ‘राधा’ ले प्रदर्शनको मिति नजिकिदै जाँदा प्रचार–प्रसारमा तीव्रता दिइरहेको छ । चलचित्र दर्शकको अपेक्षाभन्दा धेरै राम्रो बनेको दाबी निर्माण पक्षको छ ।