
काठमाडौं, २९ साउन । बेलायत र दुबई पठाइदिन्छु भन्दै करिब २३ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेलायत पठाईदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने इलाम नगरपालिका–१ नारायणटारका ३७ वर्षीय प्रकाश राईलाई आज आइतबार दिउँसो पक्राउ गरेको हो ।
राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रतिव्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले बेलायतमा मासिक ४ लाख रुपैयाँसम्म तलव हुने विश्वास दिलाई उनीहरूबाट प्रतिव्यक्ति ३ लाख रुपैयाँका दरले १५ लाख रुपैयाँ लिई ठगी गरेका थिए ।
पीडितबाट रकम लिई सम्पर्क बिहिन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।
यसैबीच दुबई पठाइदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्कीलाई पनि पक्राउ गरेको छ ।
दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि साढे ७ लाख रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिने प्रलोभन उनले देखाएका थिए ।
पीडितलाई मासिक एक लाख रूपैयाँसम्म तलव हुने विश्वास दिलाई उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो ।
दुबै जना अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया