
काठमाडौं, २९ साउन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकलाई आज आइतबार कारबाही गरेको छ ।
बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन ।
मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारीपाटीका बस चालक ईन्द्रबहादुर श्रेष्ठ, बा १ क ९४५६ नम्बरको टाइम इन्टरनेश्नल कलेजका बस चालक राजकुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बस चालक साङ्गेल शेर्पा छन ।
त्यस्तै बा ८ च ९३८३ नम्बरको रेडियन्ट पव्लिक स्कुलका भ्यान चालक शिवकुमार क्षेत्री, बा १८ च ९८०१ नम्बरको ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यान चालक मनोज महर्जन र बीएबी ००६४ नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यान चालक भिमसेन नेपाली पनि बारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीको नियमित चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीहरूलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस चेक जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म ११७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन । जसमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लघंन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ ।















प्रतिक्रिया