
काठमाडौं, २८ साउन । काठमाडौं महानागरपालिकाका मेयर बालेन साहले आफ्ना नागरिकप्रति राज्यले अभिभावकत्व प्रदान गर्न नसकेको बताएका छन् ।
आज शनिबार निहारिका राजपुतलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका मेयर साहले निहारिकाको माग जायज र तत्काल सम्बोधनयोग्य भएको बताउँदै वर्तमान सरकारले कानूनी राज्यको उपहास गरेको आरोप समेत लगाएका छन् ।
मेयर साहले अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमामा लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’ निहारिकाको माग जायज भएकाले तत्काल राज्यले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डीएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर, मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम शुरू नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् ।
यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ ।















प्रतिक्रिया