५ कार्तिक २०८३, बिहिबार

अन्तर्राष्ट्रिय युवा दिवस : किशोरीहरूद्वारा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, २७ साउन । आज अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । नेपाल र विश्वमा नै विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ ।

यसै सन्दर्भमा नवलपुर कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समूहका प्रतिनिधिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा अभिमुखीकरण गर्दै यो दिवस मनाएका छन् ।

कावासोतीमा जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालित किशोरी शसक्तीकरण कार्यक्रमका किशोरीहरुले आज कावासोती नगरपालिका–१५ मा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा अभिमुखीकरण र छलफलको आयोजना गरेका हुन् ।

आज पनि समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा खुल्ला रुपमा छलफल नगर्ने प्रचलन रहेकाले सो न्युनिकरणका लागि बालबालिका, युवा र समुदायका अगुवाहरूसहितको अन्तरपुस्तालाई लक्षित गरी स्वयम किशोरीहरुद्धारा नै सो अभियान शुरू गरेको किशोरी शसक्तीकरण कार्यक्रमकी सहजकर्ता राधादेवी बोटेले बताइन् ।

आज पनि बच्चा जन्माउने विषयमा समय र जन्मान्तरमा महिलाहरूको समेत अधिकार रहेको स्थानीय स्तरमा रहेकालाई थाहा छैन, त्यसकारण हामी आजका किशोरीहरु र भोलीका आमाहरूले नेतृत्वमा ल्याई यो विषयमा खुल्ला रुपमा बहस र पैरवीको लागि पहल गरेको उनको भनाइ छ ।

शुरू–शुरूमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा महिलाहरुको समेत समान अधिकार रहेको र यो खुल्ला बहस र छलफल गर्नुपर्दछ भन्दा सवैले हाँसेर नसुन्ने प्रचलन रहेको र उल्टो विभिन्न उपनाम र विम्बहरु प्रयोग गरेर जिस्काउने गरेका समुदायका मानिसहरू र साथीहरूले आजकल केही समस्याहरु आयो आफूलाई भन्ने गरेको कावासोती–९ निवासी किशोरी अभियन्ता मान्सु न्यौपानेले सुनाइन् ।

आजको कार्यक्रममा आफ्नै उमेर समूहका किशोरीहरुले महिनावारी सरसफाई र यौन तथा प्रजननका बारेमा जानकारीहरू दिँदा मज्जाले आफ्नो पहिलो महिनावारी र आफूले नजानेको विषयहरू सोध्न पाएकामा निकै खुशी लागेको कार्यक्रममा सहभागी किशोरी सुभेच्छा पाण्डेले बताइन् ।

महिनावारी प्राकृतिक प्रकृया रहेकोले यसको बारेमा खुल्ला बहस र सचेतना आवश्यकता रहेको उनको भनाइ छ ।

महिनावारी, यौन र बच्चा जन्माउने विषय त गफ नै गर्न नहुने जस्तो गर्नेहरू अहिले परिवर्तन भएको देख्दा र आफूलाई पनि सोध्दा समाज परिवर्तनशील हुँदै रहेको कावासोती–१५ निवासी अर्की अभियन्ता किशोरी सविना पाण्डेले बताइन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा कावासोतीका १७ वटा वडामा ३५ जना १३ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई विभिन्न विषयको तालिमहरु प्रदान गरी उनीहरूको मार्फतबाट समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।

आजको कार्यक्रममा समुदायस्तरका किशोर किशोरीहरु र आमा समूहका ३५ जनाको सहभागिता थियो । सो कार्यक्रममा किशोरी अभियन्ताहरु मान्सु न्यौपाने, सविना पाण्डे, खिमा मुसहर र ओमकला बोटेले सहजीकरण र छलफल गरेका थिए ।