
काठमाडौं । साउन ५ गतेदेखि मञ्चन भइरहेको गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अबधि थपिएको छ ।
बरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक मञ्चनको अवधि दर्शकहरूको विशेष आग्रहमा थपिएको बताइएको छ । विधाको हिसावले गीतिनाटक नयाँ प्रयोग भए पनि दर्शकको उत्साहजनक सहभागिताले ऊर्जा मिलेको निर्देशक मल्लको भनाइ छ ।
यो नाटकसँगै सर्वनामले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको हो । हाउसफूल दर्शकहरूको साथ पाइरहेको नाटक खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारेका हुन् । नेपाली रंगमञ्चको इतिहासमा चार दशकको इतिहासमा सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गरेको हो ।
गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ । गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतिकलाई चित्रात्मकता दिने कोशिष गरेको निर्देशक मल्ल बताउँछन् ।

नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएका संगीतकार राजु सिंहले ‘सपना अनेक अनेक’मार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरे । ‘प्रस्तुत गीति नाटक मार्फतपूर्ण संगीतकार भएको महसूस गरेको छु । गर्व पनि लागिरहेको छ । यसले नेपाली गीति नाटकमा विशेष योगदान पुर्याउने विश्वाश लिएको छु । साथै यसरी दर्शकको उत्साहजनक सहभागिताले यो नाटकले आफ्नो सांगितिक यात्रामा महत्वपूर्ण कोशेढुगांको रुपमा कायम भएको छ,’ सिंहले भने ।
गायक सत्यराज आचार्यले गीति नाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी लागेको बताए । ‘यो गीति नाटकका गीतहरू गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो । धेरै गीतहरू गाएँ, प्राय हर दिन गीत गाईरहेकै हुन्छु तर सँधै गाउने भन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ । संगीतकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुति साच्चै नै नवीतम प्रयोग भएको छ,’ आचार्यले भने ।

विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात दिन तड्पिरहेका हुन्छन् । त्यो एउटा प्रतीक हो । चाहे जुनसुकै मुलुकमा पुगेपनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ । आमा अर्थात् नेपाल आमा । आमाको त्यो विम्व नै नाटकको सार हो । गीतिनाटकको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ ।
मञ्चन अबधि थपिएसँगै गीतिनाटक अब साउन २८ गतेसम्म बिहीबार बाहेक हरेकदिन साँझ ५ः३० बजे र शनिबार अतिरिक्त शो १ बजे मञ्चन हुने छ ।















प्रतिक्रिया