
काठमाडौं, २१ साउन । कवि पुष्पराज केसीका ‘गुम्सिएका व्यथाहरू’ कविता सङ्ग्रह विमोचन गरिएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार र समालोचकहरूले उक्त कविता सङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, वरिष्ठ पत्रकारहरू शम्भु श्रेष्ठ, राजकुमार बानियाँ, ईश्वरी वाग्ले तथा अग्रज व्यक्तित्व श्यामबहादुर खत्री र कवि पुष्पराज केसीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गरेका हुन् । कविता सङ्ग्रह ब्रदर्श बुक्सले प्रकाशन गरेको हो ।
ललितपुर महालक्ष्मी–८ विष्णुडोलका केसीको कविता सङ्ग्रहले जन्मभूमिप्रतिको प्रेम, प्रकृतिप्रेमदेखि राजनीतिक विसंगतिप्रति तीखो व्यङ्ग्य गरेको छ । उनले समाजभित्र गुम्सिएका कथा–व्यथालाई सरल भाषामा लयवद्ध तरिकाले सृजना गरेको वरिष्ठ समालोचक राजकुमार बानियाँले बताए । बाँनियाले कवि केसीले आफ्ना अनुभव, भोगाई र संघर्षलाई समेत कवितामार्फत् प्रस्तुत गरेको भन्दै भविष्यमा कृतिहरू सृजनाका लागि प्रेरित हुने सफलताको कामना गरे ।

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले कवितामा धेरै वेदनाहरु पोखिएको बताए । स्वच्छ मनले पञ्चायत कालदेखि कम्युनिस्ट राजनीतिमा लागेकाहरू पछिल्लो घटनाक्रमले विद्रोहभाव जाग्नु स्वाभाविक भएको उनको भनाइ छ । नेताहरु बिग्रिएको र भ्रष्टाचारमा लागेकाले देश गम्भीर अवस्थामा पुगेको दृष्टान्त प्रस्तुत गर्दै श्रेष्ठले गुम्सिएका व्यथाहरूमा विद्रोहको भाव प्रकट भएको टिप्पणी गरे ।
कवि पुष्पराज केसीले केही कविता पढेर सुनाएका थिए । उनले कविता सङ्ग्रह सम्पादन गर्ने इन्द्रबहादुर खत्री तथा प्रकाशित गर्न प्रेरणा दिने सबैलाई धन्यवाद दिए ।















प्रतिक्रिया