
काठमाडौं । गायिका सुजाता काफ्ले र गायक प्रकाश कटुवालको नयाँ तिज गीत ‘म त हजुर नेपाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिनोद ढकालको शब्द र प्रकाश कटुवालको संगीत रहेको गीतलाई डोलराज बरघरेले एरेन्ज गरेका हुन् । विगत लामो समयदेखि आफ्नो परिवारको साथमा बेलायत बस्दै आएकी निर्देशक, कलाकार तथा कोरियोग्राफर सरु गुरुङ रानाको निर्देशनमा तयार भएको ‘म त हजुर नेपाली’को म्युजिक भिडियोमा मौलिकता झल्किएको छ ।
म्यूजिक भिडियोमा कमेडी च्याम्पियनका फर्स्ट रनरअप खड्क बहादुर पुन मगर (खबपु), डान्सर निर आले, प्रतिष्ठा त्रिपाठी, ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई छायाकंन र सम्पादन भने सुमन श्रेष्ठले गरेका छन् ।
भिडियोलाई बेलायतको विभिन्न रमणीय स्थानमा छायाकंन गरिएको छ । प्रवासमा रहेका नेपाली दिदीबहिनीहरूको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरीप्रति गर्व गरेको विषय समावेश गरिएको छ ।
गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ । बेलायतमा नेपाली मौलिक तीज गीतको संरक्षण गर्दै दिदीबहिनीहरूलाई तीज मनाउन प्रेरित गर्ने उद्देश्यले तिज गीत ल्याएको गायिका सुजाता काफ्लेले बताइन् ।















प्रतिक्रिया