
काठमाडौं, २० साउन । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समूहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचनलक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण समेत गरिएको छ ।
केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर्चा र चुनावी गठबन्धनको रुपमा प्रयोग गर्ने निर्णय गरेको बताइएको छ ।
आज घोषण गरिएको उक्त नेपाल समाजवादी केन्द्रमा नेकपा (समाजवादी), नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपाल आवद्ध छन् ।
बामदेव गौतमलाई एक महत्वपूर्ण कालखण्डमा साथ दिएको स्मरण गर्दै नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका सदस्य युवराज सफलले नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता गरी बृहत कम्युनिष्ट पार्टीको निर्माण गर्ने र मोर्चामार्फत देशलाई समृद्धिको बाटोमा अघि बढाउने बामदेवको योजना पत्याएर आफूहरूले साथ दिएको स्पष्ट पारेका छन् ।
‘हामीले त सबै कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने भनेर उहाँ (बामदेव गौतम)लाई साथ दिएका थियौं । तर, उहाँले रवैया देखाउनुभयो । उहाँको रवैयाबारे ५ बुँदे आरोपपत्र बुझायौं । त्यहीअनुसार उहाँलाई कारबाही गरियो,’ सफलले भने, ‘त्यसपछि गत साउन १७ गते बसेको बैठकले नेकपा राष्ट्रिय एकता अभियानको नाम परिवर्तन गरेर ‘नेपाल समाजवादी केन्द्र’ राखियो ।’
उनले ७७ जनाको केन्द्रीय समितिमा २५ जना बामदेवसँग पछि लागेर गएको भन्दै बाँकी भएका सबै सदस्यहरु आफूहरुसँग रहेको पनि दाबी गरेका छन् । सफलले सारा कम्युनिष्टहरूलाई एकता गर्नका लागि आफूले अभियान चलाउने पनि बताए ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले एमसीसी पास गरेर गल्ती गरेको टिप्पणी गरे । उनले यस्ता राष्ट्रघाती कदममा गल्ती महसुस गरेर नेताहरु सुध्रिएर आए सहकार्य गर्न तयार रहेकोसमेत स्पष्ट पारे ।















प्रतिक्रिया